Skip to main content

Epost Nepal

हर्मुजमा बढ्दो तनावले विश्व तेल बजार प्रभावित

२५ भदौ, काठमाडौं — स्ट्रेट अफ हर्मुजमा अमेरिका र इरानबीच युद्ध सुरु भएयताकै ठूलो समुद्री आक्रमणको शृंखला भएको छ। अमेरिका र इरान दुवैले एकअर्काका पानीजहाज तथा तेल ट्यांकरलाई निशाना बनाएपछि हर्मुजमा तनाव बढेको रोयटर्सले जनाएको छ।

अमेरिकाले इरानका पाँच वटा तेल ट्यांकरमाथि आक्रमण गरेको छ भने इरानले पछिल्लो एक सातामा अमेरिका तथा अन्य देशका १० वटा तेल ट्यांकरमाथि आक्रमण गरेको जनाएको छ। आक्रमणका क्रममा कम्तीमा एक चालक दलका सदस्यको मृत्यु भएको र अर्का एक जना बेपत्ता छन्।

तनाव बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ। हर्मुज हुँदै हुने तेलको प्रवाह पनि दैनिक २० लाख ब्यारेलसम्म घटेको छ। युद्ध सुरु हुनुअघि यही मार्गबाट दैनिक ८० लाखदेखि ९० लाख ब्यारेलसम्म तेल ओसारपसार भइरहेको थियो।

इरानले थप आक्रमण भए जबाफी कारबाही तीव्र बनाउने चेतावनी दिएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि इरानले अमेरिकी नौसैनिक पानीजहाजलाई निशाना बनाए हरेकपटक एउटा इरानी तेल ट्यांकर गुमाउनुपर्ने चेतावनी दिएका छन्।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आगामी अमेरिकी मध्यावधि निर्वाचनलाई प्रभावित पार्न खोजिरहेको आरोप लगाएका छन्। तर ह्वाइट हाउसका वरिष्ठ सल्लाहकारहरूले युद्ध ट्रम्पको कार्यकाल अर्थात् जनवरी २०२९ सम्मै लम्बिन सक्ने चेतावनी दिएको वाल स्ट्रिट जर्नलले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *