१० कात्तिक, काठमाडौं — सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमेयर तेली, उपमेयर रेशमकुमारी थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी र ठेकेदार वीरेन्द्र कुमार यादवविरुद्ध मुद्दा दायर गरेको हो।
आयोगका अनुसार उनीहरूमाथि ठेक्कासम्बन्धी विवाद मिलाउने क्रममा व्यक्तिलाई रकम दिई हिनामिना गरेको, सम्झौताबिनै अग्रिम राजस्व असुल गरेको र संकलन गर्नुपर्ने बाँकी राजस्व रकम हिनामिना गरेको लगायतका आरोप छन्।
आर्थिक वर्ष २०७७/७८ मा गोलबजार नगरपालिकाको वडा नम्बर ६ र ७ मा पशु हाटबजार, बाख्रा हाटबजार तथा गुद्री हाटबजार सञ्चालनबाट राजस्व संकलन गर्ने जिम्मेवारी ठेकेदार यादवलाई अमानतमा दिइएको थियो। तर, नगर कार्यपालिकाको निर्णय र प्रचलित कानुनी व्यवस्थाविपरीत राजस्व छुट दिइएको तथा राजस्व संकलनमा अनियमितता भएको आयोगको ठहर छ।
आयोगले नगरसभाबाट मात्र दिन मिल्ने कर छुटको अधिकार प्रयोग गरी ७३ लाख ३४ हजार ९१३ रुपैयाँ राजस्व छुट दिने निर्णय गरिएको जनाएको छ। त्यस्तै, अमानतमा संकलन गर्नुपर्ने राजस्व ठेकेदारलाई जिम्मा दिइएको र यस क्रममा सरकारी रकम हिनामिना भएको आरोपपत्रमा उल्लेख छ।
ठेकेदार यादवबाट असुल गर्नुपर्ने रकमसमेत असुल नगरी सरकारी सम्पत्तिमा हानि–नोक्सानी पुर्याइएको आयोगको आरोप छ।
आयोगले तत्कालीन नगरप्रमुख देवनाथ साह तेली, उपप्रमुख रेशमकुमारी थापा र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीविरुद्ध जनही १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो कायम गरेको छ। उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजाय गर्न मागदाबी गरिएको छ।
त्यसैगरी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो र राजस्व शाखा प्रमुख दिनेश कुमार सहनीविरुद्ध जनही १ करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा बिगो कायम गरिएको छ।
ठेकेदार वीरेन्द्र कुमार यादवविरुद्ध पनि १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो कायम गरिएको आयोगले जनाएको छ। भ्रष्टाचारबाट लाभ लिएको र गैरकानुनी कार्यमा संलग्न भएको आरोपमा उनीविरुद्ध पनि सजायको मागदाबी गरिएको छ।