१० कात्तिक, काठमाडौं — ओपनर डाविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५७ रन बनाएको हो।
चितवनका लागि मलानले सर्वाधिक ७० रन बनाए। उनले ५१ बलको सामना गर्दै पाँच छक्का र पाँच चौका प्रहार गरे। उनको अर्धशतक यस संस्करणको एनपीएलमा बनेको पहिलो अर्धशतक हो। मलानले पहिलो विकेटका लागि देव खनालसँग ५८ रनको साझेदारी गरेका थिए। देव १५ बलमा १२ रन बनाएर आउट भए।
विराटनगरका चरिथ असलंकाले चितवनको पहिलो विकेट लिएका थिए। त्यसपछि विकेटकिपर ब्याटर अर्जुन साउद पनि लामो समय क्रिजमा टिक्न सकेनन्। उनले नौ बलमा तीन रन बनाए। ११औँ ओभरको अन्तिम बलमा एन्जेलो म्याथ्युजको बलमा कप्तान सन्दीप लामिछानेले उनको क्याच लिए।
१३औँ ओभरको दोस्रो बलमा आन्द्रे रसेलले मलानलाई आउट गरेपछि चितवनको इनिङ्सलाई कप्तान रवि बोपारा र डान मोस्लीले सम्हाले। यी दुईले तेस्रो विकेटका लागि ६७ रनको अविजित साझेदारी गरे।
रवि ३२ रन र डान २९ रनमा अविजित रहेपछि चितवनले २० ओभरमा १५७ रनको योगफल तयार पार्यो।