२८ साउन, काठमाडौं — पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई भेट्न जिल्ला प्रहरी परिसर पुगेका उनका वकिलहरूलाई प्रहरीले भेट्न दिएको छैन।
अधिवक्ता टिकाराम भट्टराईसहितका वकिल श्रेष्ठलाई भेट्न जिल्ला प्रहरी परिसर पुगेका थिए। तर प्रहरीले भेट्न नमिल्ने भन्दै उनीहरूलाई फर्काएको हो।
प्रहरीले श्रेष्ठकी श्रीमती तथा उनी निकट पत्रकारसम्बन्धी संघ–संगठनका प्रतिनिधिलाई समेत भेट्न दिएको छैन।
आज प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे, प्रेस सेन्टरका अध्यक्ष कमल गिरी, महासचिव मनोज घर्ती तथा नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेललगायत श्रेष्ठलाई भेट्न प्रहरी परिसर पुगेका थिए। तर प्रहरीले भेट्न नदिएको प्रेस सेन्टरका महासचिव घर्तीले बताए।
‘प्रहरीले किशोर श्रेष्ठका वकिल र श्रीमतीलाई समेत भेट्न दिएको छैन, हामीलाई पनि भेट्न दिएन,’ घर्तीले भने, ‘प्रेस स्वतन्त्रताको सम्मान गर्न र मानवअधिकारको ख्याल गर्न हामीले भनिरहेका छौँ।’
उनका अनुसार प्रहरीले श्रेष्ठको निवासबाट उनका परिवारका सदस्यका ल्यापटपसमेत नियन्त्रणमा लिएको छ।
‘कम्तीमा पढ्ने–लेख्ने प्रयोजनका ल्यापटप त फिर्ता देऊ भन्नका लागि पनि हामी प्रहरीकहाँ पुगेका थियौँ, तर त्यो कुरा प्रहरीले मानिरहेको छैन,’ घर्तीले भने।
श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा प्रहरीले हिजो पक्राउ गरेको थियो। त्यसको भोलिपल्ट आज बिहान प्रहरीले जनआस्था कार्यालयमा समेत खानतलासी गरेको थियो।
जिल्ला प्रहरी परिसरमा रहेका श्रेष्ठलाई अनुसन्धानका लागि म्याद थप गर्न सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिएको छ।
नेपाल पत्रकार महासंघ, नेपाल मिडिया सोसाइटीलगायत संस्थाले श्रेष्ठको पक्राउ तथा जनआस्था कार्यालयमा गरिएको खानतलासीको विरोध गरेका छन्। उनीहरूले श्रेष्ठलाई बिनासर्त रिहा गर्न तथा प्रेस स्वतन्त्रताको सम्मान गर्न माग गरेका छन्।
नेपाल पत्रकार महासंघले आजै जिल्ला प्रहरी परिसर काठमाडौं अगाडि प्रदर्शनसहित धर्नासमेत दिएको छ।