Skip to main content

Epost Nepal

विश्वकपको सर्वाधिक गोलकर्ताको दौडमा मेसीभन्दा अगाडि एमबाप्पे

३ साउन, काठमाडौं — फिफा विश्वकप २०२६ मा गोल्डेन बुटको प्रतिस्पर्धा र विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको दौडमा फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पेले अर्जेन्टिनाका लियोनल मेसीलाई पछि पारेका छन्।

आइतबार बिहान तेस्रो स्थानका लागि इंग्ल्याण्डविरुद्ध भएको खेलमा एमबाप्पेले दुई गोल गर्दै एक असिस्ट पनि गरे। यस प्रदर्शनसँगै उनले दुवै प्रतिस्पर्धामा मेसीलाई उछिनेका हुन्।

हालसम्म एमबाप्पेको नाममा जारी विश्वकपमा १० गोल र ४ असिस्ट पुगेको छ। यता फाइनलअघि मेसीको नाममा ८ गोल र ४ असिस्ट रहेको छ। गोल्डेन बुट जित्न मेसीले फाइनलमा कम्तीमा दुई गोल गर्नुपर्ने अवस्था बनेको छ।

यदि मेसीले दुई गोलभन्दा कम गरे भने एमबाप्पे विश्वकपमा दोस्रो पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बन्नेछन्।

विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको दौड पनि निकै प्रतिस्पर्धात्मक बनेको छ। एमबाप्पे अहिले कुल २२ गोलसहित शीर्ष स्थानमा छन् भने मेसी २१ गोलका साथ एक गोलले पछाडि रहेका छन्।

एमबाप्पेले तीनवटा विश्वकप खेल्दै २२ गोल गरेका हुन्। उनले सन् २०१८ को विश्वकपमा ४ गोल, २०२२ मा ८ गोल र २०२६ संस्करणमा हालसम्म १० गोल गरेका छन्।

यता मेसीले गरेका २१ गोल भने उनले खेलेका ६ वटा विश्वकपको कुल योग हो।

इंग्ल्याण्डविरुद्ध दुई गोल गरेसँगै एमबाप्पे यस संस्करणमा १० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन्। पुरुष विश्वकपमा एउटै संस्करणमा दोहोरो अंकमा गोल गर्ने यो उपलब्धि सन् १९७० मा पश्चिम जर्मनीका गेर्ड मुलरले १० गोल गरेयताको पहिलो हो।

यसअघि विश्वकपको एउटै संस्करणमा आठ वा त्योभन्दा बढी गोल गर्ने खेलाडीको सूचीमा गेर्ड मुलर, जस्ट फन्टेन, सान्दोर कोचिस, अडेमिर, एउसेबियो, गिलेर्मो स्टाबिले, रोनाल्डो (ब्राजिल) र एमबाप्पे रहेका थिए। यसपटक एमबाप्पेले आफ्नै कीर्तिमानलाई थप उचाइमा पुर्‍याएका छन्।

उता इंग्ल्याण्डका जुड बेलिङ्घमले पनि नयाँ कीर्तिमान बनाएका छन्। फ्रान्सविरुद्ध तेस्रो स्थानको खेलमा एक गोल गरेसँगै उनले प्रतियोगितामा आफ्नो गोल संख्या सात पुर्‍याउँदै विश्वकपको एउटै संस्करणमा सर्वाधिक गोल गर्ने पहिलो इंग्लिस खेलाडी बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *