३ साउन, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मिलेर सरकार गठन गर्नुपर्ने प्रस्ताव आएको खुलासा गर्दै त्यसलाई गलत भएको बताएका छन्।
ललितपुरमा आयोजित ‘नयाँ पुस्तासँग नेपाली कांग्रेसका सभापति साक्षात्कार तथा कृष्णप्रसाद भट्टराईको सालिक अनावरण’ कार्यक्रममा बोल्दै उनले तीन दलको संयुक्त सरकार नागरिकको जनादेशअनुकूल नहुने धारणा राखे।
‘अहिले एउटा प्रस्ताव आइरहेको छ– तीनवटै पार्टी मिलेर प्रदेशमा सरकार बनाउनुपर्छ। हामीले भन्यौं, यो गलत हो, यसो गर्नु हुँदैन। यसरी सरकार बनाउँदा नागरिकले दिएको म्यान्डेटभन्दा फरक अवस्था सिर्जना हुन्छ,’ उनले भने।
बागमती प्रदेश सरकारको भविष्यबारे उठेको प्रश्नको जवाफ दिँदै थापाले कांग्रेसले आफ्नो सिद्धान्तमा कुनै सम्झौता नगर्ने स्पष्ट पारे।
उनका अनुसार प्रदेशमा तीनवटै प्रमुख दल मिलेर सरकार गठन गर्नु भनेको प्रदेश सभालाई प्रतिपक्षविहीन बनाउनु हो।
‘त्यसो गर्दा कांग्रेस सरकारमा रहन सक्छ, तर सरकारमै बस्नुपर्छ र सत्ता नै सबैथोक हो भन्ने सोचले २०७२ सालयता हामीलाई कहाँ पुर्यायो ?’ भन्दै उनले प्रश्न गरे। उनले चुनाव एउटा दलसँग मिलेर लड्ने र सत्ता अर्को दलसँग मिलेर सञ्चालन गर्ने अभ्यासले राजनीतिक अस्थिरता बढाएको पनि बताए।
‘को सत्तापक्ष र को प्रतिपक्ष भन्ने नै स्पष्ट नहुने अवस्था बन्यो। सरकार बन्ने र भत्किने क्रम धेरै हुनुको मुख्य कारण पनि सत्ता केन्द्रित राजनीति हो,’ उनले भने।
थापाले अहिलेको कांग्रेसले आफ्नो सोच र प्राथमिकता परिवर्तन गर्न खोजिरहेको बताए।
यसैबीच, कांग्रेसले कर्णाली प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाएर मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिसकेको छ। साथै, एमालेसँग भएको विगतको समझदारीलाई निरन्तरता नदिने पक्षमा कांग्रेसका नेताहरू देखिएकाले प्रदेश सरकारको नेतृत्व परिवर्तनको चर्चा पनि चलिरहेको छ।