Skip to main content

Epost Nepal

प्रतिनिधिसभा बैठक स्थगित, संसदीय क्यालेन्डरको कार्यसूची प्रभावित

१६ भदौ, काठमाडौं — प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएपछि संसदीय क्यालेन्डर प्रभावित भएको छ। क्यालेन्डरअनुसार प्रतिनिधिसभाको बैठक सोमबार र मंगलबार बस्नुपर्ने थियो। तर, बैठक अब कहिले बस्ने भन्ने टुंगो लागेको छैन।

भदौ १० गते संघीय संसद् सचिवालयले सूचना जारी गर्दै प्रतिनिधिसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी दिएको थियो।

संसदीय क्यालेन्डरअनुसार सोमबार बैठक बसेको भए कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने थियो। त्यसैगरी, शून्य समय सञ्चालन गर्ने र केही वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची पनि थियो।

त्यस्तै, मंगलबारको बैठकमा संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गर्ने कार्यसूची थियो।

मंगलबार शून्य समय र विशेष समय सञ्चालन गर्नुका साथै मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने सम्भावित कार्यसूचीसमेत थियो।

तर, निर्धारित कार्यसूचीअनुसार प्रतिनिधिसभाको बैठक बस्न सकेन। यससँगै संसदीय क्यालेन्डर प्रभावित भएको विषयमा छलफल गर्न मंगलबार प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ।

सिंहदरबारमा बस्ने समितिको बैठकमा प्रतिनिधिसभाको आगामी बैठक कहिले राख्ने भन्ने विषयमा छलफल हुनेछ।

यसैगरी, संसदीय क्यालेन्डरअनुसार भोलि मंगलबारको बैठकमा बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची थियो। शून्य समय सञ्चालन गर्ने विषय पनि कार्यसूचीमा थियो।

यसपछि बस्ने प्रतिनिधिसभाका बैठकका दिन र सम्भावित विषयसमेत क्यालेन्डरमा समावेश गरिएका छन्। तर, निर्धारित समयअनुसार बैठक सञ्चालन हुन नसकेपछि संसदीय क्यालेन्डर प्रभावित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *