Skip to main content

Epost Nepal

रसुवा बाढी : सडक–पुल मर्मतदेखि वडास्तरमा राहत वितरणसम्मका निर्णय

१६ भदौ, काठमाडौं — बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित नागरिकको उद्धार र राहत वितरणलाई पहिलो प्राथमिकतामा राखिएको बताएका छन्।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले बाढीबाट भएको क्षति अकल्पनीय रहेको बताए। उनले उद्धार, राहत तथा व्यवस्थापनका लागि सम्पूर्ण सरकारी संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गरिएको जानकारी दिए।

विपद्को अवस्थामा आवश्यक जनशक्ति, उपकरण, खाद्यान्न, औषधि तथा अन्य राहत सामग्रीको अभाव हुन नदिन उनले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्।

बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउन बैठकले विभिन्न निर्णयसमेत गरेको छ।

पूर्वाधार मर्मत र यातायात सञ्चालन:
बाढीका कारण क्षतिग्रस्त सडक तथा अन्य पूर्वाधारको तत्काल मर्मत गरी यातायात सेवा सञ्चालनमा ल्याइने भएको छ। यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी आवश्यक स्रोतसाधन परिचालन गरिनेछ।

वडास्तरबाटै राहत वितरण:
संघीय सरकारका कार्यालयबाट राहत सामग्री संकलन गरी प्रदेश सरकारमार्फत व्यवस्थापन गरिनेछ। त्यसपछि स्थानीय तहसँग समन्वय गरेर वडास्तरसम्मै राहत सामग्री पुर्‍याई वितरण गरिनेछ।

शव व्यवस्थापनको जिम्मा स्थानीय तहलाई:
बाढीमा परी ज्यान गुमाएकाहरूको शव पहिचान तथा व्यवस्थापनका लागि सुरक्षा निकाय परिचालन गरिनेछ। शव व्यवस्थापनका लागि आवश्यक स्थान उपलब्ध गराउने तथा अन्य व्यवस्थापकीय काम सम्बन्धित स्थानीय तहले गर्नेछ।

दीर्घकालीन पुनर्निर्माण र सतर्कता:
क्षतिग्रस्त सडक र पुलको तत्काल मर्मतसँगै दीर्घकालीन पुनर्निर्माणका कामलाई पनि प्राथमिकताका साथ अघि बढाइनेछ। सम्भावित जोखिमयुक्त क्षेत्रमा थप क्षति हुन नदिन सुरक्षा र पूर्वतयारीका उपायलाई अझ प्रभावकारी बनाइने बैठकले निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *