Skip to main content

Epost Nepal

बोस्नियालाई २–० ले हराउँदै अमेरिका नकआउट चरणमा

१८ असार, काठमाडौं — सहआयोजक अमेरिका फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।

बिहीबार सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले हराउँदै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो।

अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले समान एक–एक गोल गरे। खेलको ४५औं मिनेटमा बालोगुनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, पहिलो गोल गरेका उनी नै ६४औं मिनेटमा रातो कार्ड पाएपछि मैदानबाट बाहिरिए र अमेरिका १० खेलाडीमा सीमित भयो।

१० खेलाडीमा सीमित भए पनि अमेरिकाले आफ्नो प्रदर्शनलाई निरन्तरता दियो। खेलको ८२औं मिनेटमा मलिक टिलम्यानले पेनाल्टी क्षेत्रभन्दा केही बाहिरबाट प्रहार गरेको फ्रिकिक सिधै गोलमा परिणत गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि थप गोल हुन नसक्दा अमेरिका २–० को जित निकाल्न सफल भयो।

यस जितसँगै अमेरिकाले २४ वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित दर्ता गरेको छ। यसअघि सन् २००२ को विश्वकपमा अमेरिका क्वार्टरफाइनलसम्म पुगेको थियो। त्यसयता भने टोली दोस्रो चरणबाटै बाहिरिँदै आएको थियो।

यो नतिजासँगै विश्वकपका सबै आयोजक राष्ट्र अन्तिम १६ मा पुगेका छन्। मेक्सिको र क्यानडाले यसअघि नै अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेका थिए।

अब क्वार्टरफाइनल प्रवेशका लागि अमेरिकाले बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *