Skip to main content

Epost Nepal

२०० वर्ष पुरानो चौतारा कहाँ गयो? पाँच वर्षपछि उठ्यो अतिक्रमणको प्रश्न

४ भदौ, काठमाडौं — जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक सार्वजनिक चौतारा गायब भएको पाँच वर्ष पुगेको छ ।

स्थानीय समुदायको धर्म, संस्कार र सामाजिक परम्परासँग जोडिएको उक्त चौतारा रहेको स्थान सम्याएर निजी घरको आँगन बनाइएको स्थानीयको आरोप छ ।

चौतारा नरहे पनि त्यससँगै रहेको ‘मूलधारा’ नामले चिनिने पुरानो ढुङ्गे धारा भने अहिले पनि कायम छ । परापूर्वकालदेखि स्थानीयले खानेपानी, नुहाउने तथा विभिन्न संस्कारका लागि प्रयोग गर्दै आएको उक्त धारालाई दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा संरक्षण गरिएको छ ।

ढुङ्गे धारासँगै रहेको सार्वजनिक चौतारा भएको स्थानमा दुई कित्ता सार्वजनिक जग्गा रहेको देखिन्छ । तीमध्ये एक कित्ता सार्वजनिक चौतारा र अर्को सार्वजनिक धाराका नाममा भूमि प्रशासन कार्यालय (तत्कालीन जिल्ला मालपोत कार्यालय) खोटाङमा दर्ता रहेको छ ।

कित्ता नम्बर २९६ मा सात आना तीन दाम दुई पैसा क्षेत्रफलको जग्गा ‘सार्वजनिक चौतारा’ र कित्ता नम्बर १११२ मा नौ आना दुई पैसा क्षेत्रफलको जग्गा ‘सार्वजनिक धारा’का नाममा दर्ता रहेको देखिन्छ । सार्वजनिक धारा र चौतारा साविक दिक्तेल गाउँ विकास समिति–२ र ३ को सीमाना तथा हाल दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेलमा पर्छ ।

दिक्तेल बजार सामाजिक गुठीका अध्यक्ष विष्णुकुमार श्रेष्ठ ‘स्याण्डे’का अनुसार सार्वजनिक चौतारा नजिकै रहेको आफ्नो निजी जग्गामा स्थानीय नारायणकाजी श्रेष्ठले विसं २०७८ मा पक्की घर निर्माण गरेका हुन् । त्यसक्रममा चौताराका नाममा रहेको जग्गालाई घरको आँगन बनाइएको उनको दाबी छ ।

‘हाम्रो संस्कारसँग जोडिएको सार्वजनिक चौतारा अतिक्रमण भएको छ । यसमा अघिल्लो स्थानीय सरकारका जनप्रतिनिधि तथा प्राविधिक कर्मचारीको मिलेमतो देखिएको छ’, उनले भने, ‘वर्षौंदेखि प्रयोग गर्दै आएको जग्गामा संस्कार गर्न जाँदा घरधनीले दुर्व्यवहार गर्दै आएका छन् । यो समस्या स्थानीयस्तरबाट समाधान नहुने देखिएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोग गुहार्ने तयारीमा छौं ।’

दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको सार्वजनिक चौताराको जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गरिएको भन्दै स्थानीयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा विसं २०८३ असार २९ गते गुनासो दर्ता गराएका थिए । त्यसपछि साउन ७ गते उजुरीसमेत दर्ता गरिएको बुझिएको छ ।

उजुरी नेपाल सरकारसम्म पुगेपछि चौतारा अतिक्रमण भएको भनिएको जग्गाबारे अध्ययन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जिल्ला प्रशासन कार्यालय खोटाङलाई निर्देशन दिएको छ ।

यता, सार्वजनिक जग्गा अतिक्रमण गरेको आरोप लागेका नारायणकाजी श्रेष्ठले भने आफूले चौताराका नाममा रहेको सार्वजनिक जग्गा नमिचेको दाबी गरेका छन् ।

‘मैले आफ्नो पाँच आना तीन पैसा एक दाम जग्गाभित्र घर निर्माण गरेको हुँ । सार्वजनिक चौतारा रहेको जग्गामा अहिले दिक्तेल–लफ्याङ सडक छ’, उनले भने, ‘आफ्नो जग्गामा घर बनाएर बस्दा पनि साथीहरूले दुःख दिइरहेका छन् । म पनि सामाजिक गुठीको सदस्य हुँ । यही संस्थाको नामबाट मलाई पटक–पटक दुःख दिएपछि गत साउन २१ गते विपक्षीका नाममा जिल्ला अदालत खोटाङमा मुद्दा दर्ता गराएको छु ।’

स्थानीयका अनुसार दिक्तेल बजारका नेवार, बस्नेत, खड्का र दमाई समुदायको धर्म तथा संस्कारसँग जोडिएको सार्वजनिक चौतारा रातारात हटाइएको विषय उनीहरूले त्यतिबेलैदेखि उठाउँदै आएका छन् । नारायणकाजीको घर निर्माणका क्रममा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका तत्कालीन जनप्रतिनिधिको मिलेमतोमा चौतारा र वरपीपलको रुख हटाइएको उनीहरूको आरोप छ ।

सार्वजनिक चौतारामा स्थानीयले कसैको मृत्यु हुँदा आफ्नो संस्कारअनुसार काजकिरिया, पितृकार्य तथा अन्य धार्मिक र सामाजिक संस्कार गर्दै आएका थिए । नेवार समुदायले हरेक वर्ष मनाउने जात्रा पनि यही स्थानमा सेलाउने अर्थात् विसर्जन गर्ने परम्परा रहेको स्थानीय बताउँछन् ।

चौतारा भत्काएपछि सोही स्थानमा कटेरो बनाएर नेवार समुदायले परम्परागत रूपमा मृत्यु संस्कार गर्दा समेत घरधनीले अपशब्द प्रयोग गर्दै गाली गर्ने गरेको दिक्तेल बजार सामाजिक गुठीका सचिव सरोज सैँजूले बताए । त्यसबेला आफूहरूलाई गाली गर्दै बनाइएको भिडियो सामाजिक सञ्जालमा समेत राखिएको र अहिले उक्त भिडियो हटाइएको उनले जानकारी दिए ।

आफ्नो संस्कारसँग जोडिएको सार्वजनिक चौतारा प्रयोग गर्न नपाइएको भन्दै स्थानीयले दुई वर्षअघि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको न्यायिक समितिमा निवेदन दिएका थिए । त्यसपछि दुवै पक्षबीच छलफल गरी विसं २०८१ भदौ ७ गते निर्णय गरिएको पाइएको छ ।

स्थानीयले हरेक दिन उक्त स्थानमा आफ्नो संस्कारअनुसार खाना पकाएर खाने तथा नेवार समुदायले जात्रा सेलाउने गरेको पाइएपछि सार्वजनिक जग्गा दिक्तेल बजार सामाजिक गुठीले संरक्षण गर्ने र स्थानीयले परम्परागत रूपमा गर्दै आएको संस्कार गर्न पाउने गरी न्यायिक समितिले निर्णय गरेको थियो ।

नगरपालिकाको न्यायिक समितिमार्फत पाटी तथा चौतारा निर्माण गरी दिक्तेल बजार सामाजिक गुठीको संरक्षणमा राख्ने र स्थानीय समुदायले भोगाधिकार गर्न पाउने अधिकार लिखित रूपमा दिइएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक विशन राईले बताए ।

न्यायिक समितिको निर्णयपछि दिक्तेल बजारस्थित नेवार समुदायले दुवै कित्ताको जग्गामा काजकिरियाको दशौँ, एघारौँ र बाह्रौँ दिनका संस्कार गर्दै आएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *