Skip to main content

Epost Nepal

निर्माण क्षेत्रमा डिजिटल रूपान्तरणका लागि शिलाक्ष्य र फोरफ्रन्टबीच सहकार्य

२९ असोज, काठमाडौं — नेपालको निर्माण क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री, दिगो र विपद् प्रतिरोधी बनाउन शिलाक्ष्य गृह निर्माण प्रा.लि. र फोरफ्रन्ट इन्जिनियरिङ प्रा.लि.बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीअनुसार दुवै कम्पनीले डिजिटल इन्जिनियरिङ, नवीन प्रविधि, अनुसन्धान र दिगो निर्माण अभ्यासलाई प्रवर्द्धन गर्न सहकार्य गर्नेछन्। निर्माण क्षेत्रमा प्रविधि र नवप्रवर्तनको प्रयोग बढाउनुका साथै ज्ञान र अनुभव आदानप्रदानमार्फत सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले दुई नेपाली कम्पनीबीच यो सहकार्य गरिएको हो। समझदारीपत्रमा शिलाक्ष्य गृह निर्माणका तर्फबाट आशित अधिकारी र सायन प्याकुरेल तथा फोरफ्रन्ट इन्जिनियरिङका तर्फबाट महेश कार्की र सुधीर थापाले हस्ताक्षर गरेका छन्।

सहकार्यअन्तर्गत भवन सूचना मोडलिङ (BIM), भर्चुअल रियालिटी (VR), डिजिटल ट्विन, LiDAR स्क्यानिङ तथा अन्य नवीन प्रविधिको व्यावहारिक प्रयोगलाई प्राथमिकता दिइनेछ। यी प्रविधिको प्रयोगले निर्माण परियोजनाको डिजाइनमा समन्वय गर्न, सम्भावित त्रुटि पहिचान गर्न, परियोजनाको भर्चुअल दृश्य तयार पार्न, निर्माणस्थलको डिजिटल अभिलेख राख्न, निर्माण सामग्रीको परिमाण गणना गर्न र निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, स्क्यानबाट BIM मोडल तयार गर्ने प्रविधि (Scan-to-BIM), वास्तविक स्थलको डिजिटल अभिलेखीकरण (Reality Capture), कृत्रिम बुद्धिमत्ता (AI) मा आधारित उपकरण तथा अन्य डिजिटल इन्जिनियरिङ समाधानको प्रयोग र सम्भावनाबारे पनि दुवै कम्पनीले सहकार्य गर्नेछन्।

शिलाक्ष्य गृह निर्माणको निर्माण क्षेत्रसम्बन्धी अनुभव र फोरफ्रन्ट इन्जिनियरिङको डिजिटल इन्जिनियरिङ विशेषज्ञतालाई एकीकृत गरी निर्माणको गुणस्तर र कार्यदक्षता बढाउने, स्रोतसाधनको प्रभावकारी उपयोग गर्ने तथा परियोजनामा समन्वय सुधार गर्ने लक्ष्य राखिएको छ।

शिलाक्ष्य गृह निर्माण प्रा.लि. नेपालमा आधारित निर्माण कम्पनी हो। कम्पनीले गुणस्तरीय निर्माण समाधान र भरपर्दो भौतिक संरचनाको विकासमा जोड दिँदै आएको छ।

फोरफ्रन्ट इन्जिनियरिङ प्रा.लि. इन्जिनियरिङ तथा प्रविधिको क्षेत्रमा कार्यरत कम्पनी हो। यसले भवन सूचना मोडलिङ (BIM), डिजिटल इन्जिनियरिङ तथा प्रविधिमा आधारित निर्माण समाधानमा विशेषज्ञता हासिल गरेको छ। आधुनिक इन्जिनियरिङ कार्यप्रणाली, नवीन प्रविधिको प्रयोग र प्राविधिक क्षमता विकासमार्फत कम्पनीले निर्माण क्षेत्रमा डिजिटल रूपान्तरणलाई सहयोग पुर्‍याउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *