Skip to main content

Epost Nepal

बागमती सरकारमा नेकपाको तर्फबाट सरल सहयात्री मन्त्री बन्दै

४ भदौ, काठमाडौं — बागमती प्रदेशमा आज गठन हुने नयाँ सरकारमा नेकपाका नेता सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री बन्ने भएका छन् ।

सत्ता साझेदार दल नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच प्रदेश सरकारमा मन्त्रालय बाँडफाँट गर्ने सहमति अनुसार सहयात्रीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो ।

नेकपाबाट मन्त्री बन्नेमा सिन्धुपाल्चोकका तत्कालीन नेकपा माओवादी पृष्ठभूमिका सरल सहयात्रीको नाम टुंगिएको नेकपाका नेता तथा पूर्वमन्त्री रत्नप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार भागबण्डामा नेकपाले पाउने अर्को एक मन्त्रालयमा कसलाई पठाउने भन्ने विषय भने औपचारिक रूपमा टुंगिएको छैन ।

नेकपाबाट अर्का मन्त्रीका रूपमा माधव नेपाल पक्षकी रमा आले मगरलाई पठाउने चर्चा पनि छ । उनी यसअघि युवा तथा खेलकुद मन्त्री भइसकेकी छन् ।

मन्त्रालय बाँडफाँटअनुसार नेकपाले करिब एक वर्षदेखि रिक्त रहेको सभामुखसहित दुई मन्त्रालय पाएको छ ।

सभामुखको उम्मेदवार पनि नेकपाले टुंग्याउन बाँकी छ । सभामुखका लागि काभ्रेका रत्नप्रसाद ढकालको नाम चर्चामा छ । यद्यपि, आफू सभामुख बन्ने विषयमा टुंगो नलागेको र छलफल भइरहेको ढकालले अनलाइनखबरलाई बताए ।

यसअघि राप्रपाबाट सभामुख बनेका भुवनकुमार पाठकले गत भदौमा जेनजी आन्दोलनका क्रममा पदबाट राजीनामा दिएका थिए । त्यसयता बागमती प्रदेशमा सभामुख पद रिक्त छ ।

उपसभामुख अप्सरा चापागाईंले प्रदेशसभा सञ्चालन गर्दै आएकी छन् । उपसभामुखमा चापागाईंले नै निरन्तरता पाउने भएकी छन् ।

यसैबीच, एमाले, नेकपा र राप्रपाबीच बुधबार भएको मन्त्रालय बाँडफाँटसम्बन्धी सहमतिमा पनि हेरफेर गर्नुपर्ने विषय दलभित्र उठेको छ ।

नेकपाले दाबी गरेको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा राप्रपाले पनि दाबी गरेको छ । नेकपाका सांसद ढकालका अनुसार खानेपानी वा उद्योग, पर्यटन मन्त्रालयमध्ये एउटा नेकपाले पाउनुपर्ने दाबी गरिएको छ ।

एमाले सांसद तथा प्रदेशसभाको उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठका अनुसार प्रारम्भिक सहमतिमा एमालेले मुख्यमन्त्रीसहित दुई मन्त्रालय, नेकपाले सभामुखसहित दुई मन्त्रालय र राप्रपाले तीन मन्त्रालय लिने तय भएको थियो ।

सहमतिअनुसार एमालेले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार तथा विकास मन्त्रालय र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय पाउने भएको छ ।

त्यस्तै, नेकपाले आर्थिक मामिला तथा योजना र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय पाउने सहमति भएको थियो ।

राप्रपाले स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय पाउने सहमति भएको सांसद श्रेष्ठले जानकारी दिए ।

बुधबार एमाले, नेकपा र राप्रपाले नयाँ सरकार गठनका लागि ६३ जना बहुमत सांसदको समर्थनसहित एमालेका किरण थापा मगरलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष दाबी पेस गरेका थिए ।

तर, राप्रपा बागमती प्रदेश संसदीय दलले दिएको समर्थनलाई पार्टी केन्द्रले अनधिकृत भन्दै मान्यता नदिन प्रदेश प्रमुखलाई बुधबार नै पत्राचार गरिसकेको छ ।

यद्यपि, एमाले र नेकपाका नेताहरूले राप्रपाभित्रको आन्तरिक विवादले सरकार गठनमा समस्या नहुने दाबी गर्दै आएका छन् । सोहीअनुसार आज बिहीबार ४ बजेपछि मुख्यमन्त्री थापासहित मन्त्रीहरूको नियुक्ति र शपथको तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *