Skip to main content

Epost Nepal

५५ भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्डसहित नाइमा मोबिलिटी एक्स्पो सुरु

२६ साउन, काठमाडौं — नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ आजदेखि सुरु भएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उद्घाटन गरेसँगै एक्स्पो औपचारिक रूपमा सुरु भएको हो।

साउन ३१ गतेसम्म चल्ने एक्स्पो गत वर्षको तुलनामा अझ भव्य हुने आयोजकले जनाएको छ। एक्स्पोका संयोजक गौरव शारडाका अनुसार चीनका राष्ट्रपतिले चढ्ने लक्जरी ब्रान्ड ‘हङसी’ पहिलोपटक नेपाली मञ्चमा प्रस्तुत हुँदैछ। साथै, दर्जनौँ नयाँ विद्युतीय तथा हाइब्रिड सवारी सार्वजनिक हुनेछन्, जसले भविष्यको नेपाली सडकको स्वरूपबारे झलक दिनेछ।

साना ईभीदेखि प्रिमियम एसयूभी, स्मार्ट स्कुटरदेखि सिटी बससम्मका विभिन्न सवारी एउटै छानामुनि प्रदर्शनमा राखिएका छन्। नाइमाका अनुसार भृकुटीमण्डप केही दिनका लागि केवल सवारी साधनको प्रदर्शनीस्थल मात्र नभई नेपालको बदलिँदो ‘मोबिलिटी’ इतिहासको साक्षी बन्नेछ।

शारडाका अनुसार यसपटकको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ अटोमोबाइल उद्योगका लागि व्यापारिक मेला मात्र नभई बजारको नयाँ शक्ति–सन्तुलन देखाउने मञ्चसमेत बन्नेछ।

उनका अनुसार एक्स्पोमा सार्वजनिक हुने ४० भन्दा बढी नयाँ मोडलले नेपाली सवारी बजार पेट्रोल र डिजेलबाट ब्याट्री, सफ्टवेयर तथा स्मार्ट प्रविधितर्फ तीव्र रूपमा अघि बढिरहेको संकेत गर्नेछ।

इन्धनबाट विद्युतीय सवारीतर्फको तीव्र विकास, विश्वका नयाँ ब्रान्डहरूको नेपाल प्रवेश, स्मार्ट प्रविधियुक्त सवारी तथा चाडपर्वअघिको बजारको उत्साहलाई एउटै ठाउँमा अनुभव गर्न सकिने भएकाले यसपटकको एक्स्पोलाई व्यवसायीहरूले अटो शोभन्दा पनि ‘मोबिलिटीको महाकुम्भ’का रूपमा लिएका छन्।

प्रदर्शनीमा ५५ भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्ड सहभागी हुँदैछन्। आयोजकका अनुसार २६ चारपांग्रे, १८ दुईपांग्रे र आठ व्यावसायिक सवारी ब्रान्ड सहभागी छन्। एक्स्पोमा ४० भन्दा बढी नयाँ उत्पादन सार्वजनिक हुने दाबीसमेत आयोजकको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *