Skip to main content

Epost Nepal

ग्यास लुकाउने र महँगोमा बेच्नेमाथि निगरानी

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा ग्यास डिपोको निगरानी तथा अनुगमनका लागि प्रहरी परिचालन गरिएको हो।

भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासा तथा सूचनाहरू आउन थालेपछि उद्योगमन्त्री गौरी यादवले यस विषयमा चासो लिएकी थिइन्।

ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि अभाव देखाएर उपभोक्तालाई दुःख दिने र महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न मन्त्री यादवले गृहमन्त्री सुधन गुरुङसँग प्रहरी परिचालन गरी अनुगमन गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ।

मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई आवश्यक निर्देशन दिएका थिए। त्यसपछि आइतबार बिहानदेखि नै काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी तथा अनुगमन सुरु गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने वा कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कारबाही गर्ने उद्देश्यले प्रहरी परिचालन गरिएको हो।

उपत्यकामा भइरहेको अनुगमनबाट प्राप्त सूचनाका आधारमा आवश्यक परे अन्य जिल्लाका ग्यास डिपो तथा बिक्री केन्द्रमा पनि सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी बढाइने गृह मन्त्रालयले जनाएको छ।

सरकारले ग्यासको आपूर्ति सहज हुँदाहुँदै कृत्रिम अभाव सिर्जना गरेर उपभोक्तालाई दुःख दिने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ। साथै, कालोबजारी नियन्त्रणका लागि बजार अनुगमनलाई थप कडाइ गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *