Skip to main content

Epost Nepal

ओलीको चुनौती : बयान नदिए गोली हान्नुस्, आजीवन थुनिदिनुस्

७ पुस, काठमाडौं — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगमा बयान दिन अस्वीकार गर्ने अडान दोहोर्‍याएका छन्। हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्न मा अन्तर्वार्ताका क्रममा उनले यस विषयमा आफू पहिल्यैदेखि स्पष्ट रहेको र निर्णयमा अडिग रहेको बताएका हुन्।

प्रधानमन्त्री र आयोगका अध्यक्षले छानबिन सुरु हुनुअघि नै निष्कर्ष सार्वजनिक गरिसकेकाले बयान दिनुको कुनै औचित्य नरहेको ओलीको भनाइ छ। ‘आयोगले छानबिन गर्छ तर नतिजा सार्वजनिक गर्दैन भनिन्छ, तर मेरो नाम नै लिएर अहिलेका प्रधानमन्त्री र आयोगका अध्यक्षले पहिल्यै निष्कर्ष सुनाइसक्नुभएको छ,’ उनले भने, ‘पहिले नै परिणाम तय भइसकेपछि मैले कुन आधारमा विश्वास गरेर बयान दिनु ? जाँचै नगरी निर्णय गरिसकिएको अवस्थामा म किन आयोगमा जानु ?’

बयान नदिएको भन्दै कडा कारबाही गर्न चाहे त्यसका लागि पनि आफू तयार रहेको ओलीले चुनौती दिए। ‘बयान दिन नमानेको भनेर गोली ठोके पनि हुन्छ। यत्रो कसुर गरेको मानिन्छ भने आजीवन थुनिदिए पनि हुन्छ,’ उनले व्यङ्ग्यात्मक शैलीमा भने।

आयोगका अधिकारीहरू घरमै आएमा सम्मानपूर्वक स्वागत गर्ने समेत ओलीले बताए। ‘घर आउनुभयो भने चिया खुवाएर सम्मानसाथ स्वागत गर्छु, कुरा गरेर पठाउँछु,’ उनले भने।

आवश्यक परे आफू काठमाडौं उपत्यकाबाहिर पनि जाने स्पष्ट पार्दै ओलीले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न कसैसँग अनुमति लिनु नपर्ने बताए। ‘म बाहिर जानुपर्‍यो भने जान्छु। काभ्रे, रामेछाप, पर्वत वा आफ्नै निर्वाचन क्षेत्रबाट चुनाव लड्छु। निर्वाचनमा आउनु भनेर बोलाउने अनि जान नपाइने भन्ने कस्तो कुरा हो ?’ उनले प्रश्न गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *