Skip to main content

Epost Nepal

म ढुक्कका साथ भन्न सक्छु यो सरकार फेरिन्छ भन्ने भ्रममा नपर्नुस्: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङ

१४ मङ्सिर, स्याङ्जा – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् ।

स्याङ्जाको मिर्मीमा आयोजित एक कार्यक्रममा उनले दुई ठूला पार्टी मिलेर गठन भएको वर्तमान सरकार तीन वर्ष तलमाथि नहुने दाबी गरे ।

देशमा राजनीतिक स्थायित्व नहुँदा अन्य विकास निर्माण, व्यापार, उत्पादनलगायत क्षेत्र प्रभावित हुने भएकाले देशलाई अग्रगति दिनका लागि निर्माण भएको वर्तमान सरकार आगामी निर्वाचनसम्म ढुक्ककासाथ टिक्ने उनको दाबी थियो ।

‘यो मुलुकको समृद्धिका लागि निर्माण भएको सरकार उद्देश्य पूरा नहुँदासम्म ढल्ने कुरा हुँदैन,’ उनले भने, ‘म ढुक्कका साथ भन्न सक्छु यो सरकार फेरिन्छ भन्ने भ्रममा नपर्नुस्, सरकार ढल्दैन, २०८४ को निर्वाचनसम्म जान्छ ।’

अझै डेढ वर्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र त्यसपछिको डेढ वर्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति रहेको उनले बताए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरूङले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आसन्न चीन भ्रमणका क्रममा विगतमा भएका सम्झौताको कार्यान्वयनमा जोड दिने बताए । चीन भ्रमणका क्रममा बीआरआईका सन्दर्भमा सरकारले ऋण नलिने पनि उनले प्रस्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *