Skip to main content

Epost Nepal

धादिङको झ्याप्लेखोला पहिरो: अहिलेसम्म २४ जनाको मृत्यु

१३ असोज, काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा अहिलेसम्म २४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सशस्त्र प्रहरी बल, नेपालका अनुसार उक्त पहिरो एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएका छन् ।

चितवनबाट काठमाडौंका लागि आएको माइक्रोबस आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको छ । उक्त माइक्रो बसबाट ७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ ।

सशस्त्र प्रहरी बलका अनुसार चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस पहिरोमा पुरिएको हो । उक्त माइक्रो बसबाट २ महिला र ५ पुरुषको शव निकालिएको छ ।

पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशंकामा खोजी कार्य जारी रहेको छ । त्यही पहिरोमा गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पनि पहिरोमा पुरिएको अवस्थामा फेला परेको छ । उक्त बसबाट ३ जना पुरुषको शव निकालिएको छ ।

त्यसैगरी बुटवलबाट काठमाडौं आइरहेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस पहिरोमा पुरिँदा १४ जनाको मृत्यु भएको छ । माइक्रोबसबाट आठ पुरुष, पाँच महिला र एक बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *