२१ साउन, काठमाडौँ – बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना भारत पुगेकी छन् ।
सोमबार बिहान सुरक्षा खतरा बढ्दै गएपछि हसिनाले राजीनामा दिएर बंगलादेश छाडेकी हुन् । हसिना भारतबाट बेलायत जाने सम्भावना छ । यद्यपि कहिले जाने भन्ने यकिन भइसकेको छैन ।
हसिनाले १५ वर्षे सत्ता छाडेसँगै प्रदर्शनकारीहरूले खुसीयाली मनाएका छन् । प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए ।
हसिना सन् २००९ देखि सत्तामा थिइन् । १५ वर्षे सत्तामा चलाएकी उनीमाथि शक्तिको दुरूपयोग गरेको आरोप लाग्दै आएको थियो । उनले आफ्ना विपक्षी दलका नेताहरूविरूद्ध शक्तिको दुरूपयोग गरेको आरोप छ । ७६ वर्षीय हसिनाले चार पटक लगातार चुनाव जितेकी छन् ।
गत जनवरीमा भएको चुनाव विपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टीले बहिस्कार नै गरेको थियो । अहिले आरक्षण विरूद्धको प्रदर्शनमा पनि प्रदर्शनकारीको आवाज नसुनि बल प्रयोग गर्दै जाँदा उग्र रूप लिएको हो ।
आइतबार मात्रै त्यहाँ कम्तिमा ९१ जनाले ज्यान गुमाएका थिए । यस आरक्षण विरूद्धको प्रदर्शनमा मात्रै ३०० जना भन्दा बढीको मृत्यु भइसकेको छ । हसिनाले राजीनामा दिएसँगै बंगलादेशका सेना प्रमुख वाकेर-उज-जमनले विभिन्न राजनीतिक दलका प्रमुखसँग छलफल गरेका थिए ।
भूतपूर्व सेनाका सन्तानहरूलाई सरकारी जागिरमा आरक्षण दिने नीति विरूद्धको आन्दोलन अब सरकारविरोधी आन्दोलनमा परिणत भएको हो। आन्दोलनकारीहरूले प्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने भनेका थिए ।



