Skip to main content

Epost Nepal

‘सक्षम कांग्रेस निर्माण गर्ने हुटहुटीका साथ सभापतिमा उम्मेदवारी’ : खड्गी

२२ असोज, काठमाडौं — नेपाली कांग्रेसका सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै दबाब वा प्रभावमा नपरी विवेक प्रयोग गरेर मतदान गर्न अपिल गरेका छन्।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै खड्गीले पार्टीमा कोही पनि निर्विकल्प नहुने मान्यताका साथ आफू सभापति पदमा उम्मेदवार बनेको बताएका हुन्। उनले नेपाली कांग्रेस र लोकतन्त्रमाथि देखिएका चुनौतीको सामना गर्न सक्ने सक्षम कांग्रेस निर्माण गर्ने उद्देश्यसहित आफू महाधिवेशनको प्रतिस्पर्धामा रहेको उल्लेख गरेका छन्।

‘पार्टीमा निर्विकल्प कोही पनि हुँदैन भन्ने मान्यताका साथ तपाईं महाधिवेशन प्रतिनिधिसमक्ष उम्मेदवारको रूपमा खडा भएको छु,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘नेपाली कांग्रेस र लोकतन्त्रमाथि देखापरेका हरेक चुनौती सामना गर्न सक्षम कांग्रेस निर्माण गर्ने हुटहुटी, कार्ययोजना र तत्परतासहित महाधिवेशनको मैदानमा छु।’

उनले महाधिवेशन प्रतिनिधिहरूलाई स्वतन्त्र र निर्भय भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्। साथै, मतदानदेखि मतगणना र परिणाम घोषणासम्मको प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न हुने सुनिश्चितता गर्न पनि उनले आग्रह गरेका छन्।

खड्गीले कांग्रेस मुलुककै पुरानो र ऐतिहासिक पार्टी भएको उल्लेख गर्दै पार्टीले स्थापनाकालदेखि नै आन्तरिक तथा बाह्य लोकतन्त्रको पक्षमा संघर्ष गर्दै आएको बताएका छन्।

आफ्नो उम्मेदवारीको उद्देश्य पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ गर्दै सशक्त कांग्रेस निर्माण गर्नु रहेको उनले स्पष्ट पारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *