१८ असोज, काठमाडौं — अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा प्रणालीमा थप कडाइ गरेको छ।
आप्रवासन नियन्त्रण र विद्यार्थी भिसाको दुरुपयोग रोक्ने उद्देश्यले अक्टोबर २ देखि नयाँ नियम लागू गरिएको हो। नयाँ व्यवस्थाअनुसार अस्ट्रेलियामा रहेका अधिकांश अस्थायी भिसावाहकले त्यहीँबाट विद्यार्थी भिसाका लागि आवेदन दिन पाउने छैनन्। उनीहरूले अस्ट्रेलियाबाहिरबाटै आवेदन दिनुपर्नेछ।
एउटै तहका कोर्स पटक–पटक परिवर्तन गरेर लामो समय अस्ट्रेलियामा बस्ने प्रवृत्ति रोक्न पनि नियम कडा पारिएको छ। तर हालको कोर्स पूरा गरी उच्च तहको अध्ययनमा जाने विद्यार्थीलाई भने अस्ट्रेलियाभित्रैबाट अर्को भिसाका लागि आवेदन दिने सुविधा कायम राखिएको छ।
यस्तै, कोर्स पूरा गर्न १२ महिना वा सोभन्दा कम समय बाँकी रहेका र भिसा थप गर्नुपर्ने विद्यार्थीलाई केही छुट दिइएको छ।
नयाँ नियमले विद्यार्थी भिसामा पति/पत्नी वा आश्रित सन्तानलाई समावेश गर्ने प्रक्रियामा समेत कडाइ गरेको छ। पिएचडी वा सरकार प्रायोजित केही कोर्सबाहेक अन्य सामान्य अध्ययनमा आश्रित परिवारलाई साथमा लैजान वा पछि भिसामा थप्न सीमितता लगाइएको छ।
यी नयाँ व्यवस्थाले अस्ट्रेलियामा अध्ययनका लागि जाने तयारीमा रहेका तथा हाल अध्ययनरत नेपाली विद्यार्थीलाई समेत प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ।