Skip to main content

Epost Nepal

कृष्णभिरको नयाँ ट्र्याक जोखिममा, तल्लो भागको ग्याबियन वाल भासियो

९ असोज, काठमाडौं — अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा सडक सुरक्षाका लागि बनाइएको ग्याबियन वाल भासिएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालका अनुसार लगातारको वर्षाका कारण पुरानो सडकको ग्याबियन वाल भासिएको हो।

पुरानो सडकको ग्याबियन वाल केही तल खसेपछि कृष्णभिरमा निर्माण गरिएको नयाँ ट्र्याकसमेत जोखिममा परेको छ। नयाँ ट्र्याक खोलिएको स्थानभन्दा केही तल रहेको पुरानो सडकको ग्याबियन वाल भासिएकाले त्यसको असर नयाँ ट्र्याकमा पर्न सक्ने डीएसपी दाहालले बताए।

सडक विभागले पनि कृष्णभिरमा पृथ्वी राजमार्गको नदीतर्फ रहेको ग्याबियन वाल केही तल झरेको जनाएको छ। विभागका अनुसार हाल सञ्चालनमा रहेको सडकको माथिल्लो स्लोपमा भने कुनै समस्या देखिएको छैन।

सडकको अवस्था प्रोजेक्ट टिमले निरन्तर निगरानी गरिरहेको विभागले जनाएको छ।

बेनीघाट रोराङ गाउँपालिका–७ का वडाध्यक्ष कुमार बस्नेतका अनुसार लगातारको वर्षाका कारण नयाँ ट्र्याकलाई सपोर्ट दिन बनाइएको ग्याबियन वाल भासिएर खसेको हो। तल्लो भाग नै खसेकाले नयाँ ट्र्याक निकै जोखिममा रहेको भन्दै उनले उक्त बाटो भएर यात्रा नगर्न आग्रह गरेका छन्।

यसअघि गत १० र १४ भदौमा भोटेकोशी र त्रिशूलीमा आएको बाढीले कृष्णभिरको सडकखण्ड कटान गरेको थियो। बाढीले सडक कटान गरेपछि उक्त राजमार्ग लामो समयसम्म बन्द भएको थियो।

सडक कटान भएको स्थानमा नयाँ ट्र्याक निर्माण गरी १ असोजदेखि राजमार्ग सञ्चालनमा ल्याइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *