Skip to main content

Epost Nepal

रोशीले सडक कटान गरेपछि बीपी राजमार्ग ठप्प

९ असोज, काठमाडौं — अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएपछि धुलिखेल चोकमा सवारीसाधन ‘होल्ड’ गरिएको छ।

वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो खस्नुका साथै रोशी खोलाले सडक कटान गरेपछि बीपी राजमार्ग अवरुद्ध भएको हो।

राजमार्ग अवरुद्ध भएपछि काठमाडौं हुँदै धुलिखेलबाट पूर्वतर्फ जाने सवारीसाधनलाई धुलिखेलमै रोकिएको जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्कीले जानकारी दिए।

उनका अनुसार नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी–११ को माम्तीमा पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। चौकीडाँडामा रोशी खोलाले डाइभर्सनसमेत कटान गरेको छ।

अहिले पनि वर्षा जारी रहेकाले पहिरो हटाउन समय लाग्ने प्रहरीले जनाएको छ। यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रहरीका अनुसार काभ्रेभञ्ज्याङ र भकुण्डेमा समेत सवारीसाधनलाई होल्ड गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *