३ साउन, काठमाडौं — चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिक भएको बस दुर्घटनामा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन्। प्रहरीले घाइतेको संख्या २५ भन्दा बढी रहेको जनाएको भए पनि यकिन विवरण भने सार्वजनिक गरेको छैन।
प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौं आउँदै गरेको र काठमाडौंबाट दाङतर्फ जाँदै गरेको दुईवटा बस ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो। काठमाडौं आउँदै गरेको बा.प्र. ०३–००१ ख १६७१ नम्बरको बस दुर्घटनामा परेको छ भने दाङतर्फ जाँदै गरेको बसको नम्बर खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। उक्त बसका चालक गम्भीर घाइते भएका छन्।
दुर्घटनापछि केही समय अवरुद्ध भएको सडक अहिले सञ्चालनमा आएको छ। घाइतेहरूको उद्धार तथा उपचारका लागि आवश्यक व्यवस्था भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।
वर्षा र पहिरोको उच्च जोखिमका कारण जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि उक्त सडकखण्डमा सवारी आवागमन बन्द गराएको थियो। सडक आइतबार बिहान ६ बजेपछि मात्र सञ्चालनमा ल्याइएको थियो।
सडक खुलेपछि सवारीसाधनले लेन अनुशासन पालना नगरी चलाउँदा दुर्घटना हुने तथा लामो जाम लाग्ने समस्या देखिएको छ। सडक डिभिजन कार्यालयले सबै चालकलाई तोकिएको लेनमा रही सीमित गतिमा सवारी सञ्चालन गर्न अनुरोध गरेको छ।