७ पुस, काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन्।
काठमाडौं–४ का नेता तथा कार्यकर्तासँगको छलफलका क्रममा महामन्त्री थापाले सभापतिमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका हुन्। उनले आफू पार्टी सभापति बन्ने दाबी पनि गरे। ‘म १५औं महाधिवेशनका लागि पार्टी सभापतिको उम्मेदवार हुँ। म सभापति बन्न चाहन्छु र बन्छु,’ उनले भने।
महाधिवेशन केवल नेतृत्व परिवर्तनका लागि मात्र नभई पार्टीलाई नयाँ दिशामा लैजाने अवसर भएको उल्लेख गर्दै उनले क्रियाशील सदस्यता सम्बन्धी काम ढिलाइ भएकोप्रति असन्तुष्टि व्यक्त गरे। महाधिवेशन तोकिएकै समयमा हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।
महामन्त्रीको भूमिकामा रहँदै आफूले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशन समयमै गर्नुपर्ने विषय स्पष्ट रूपमा राख्दै आएको उनले बताए। ‘समयमै अधिवेशन गर्न सकिन्थ्यो, तर कताकता ढिलाइको संकेत देखिँदैछ। यसबारे पार्टी नेतृत्वलाई हामी खुलेर भनिरहेका छौँ र जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ,’ उनले भने।
महामन्त्री थापाले नियमित वा विशेष जुनसुकै प्रकारको भए पनि महाधिवेशन अनिवार्य रूपमा हुनुपर्ने जोड दिँदै महाधिवेशन नगरी कांग्रेस निर्वाचनमा नजाने स्पष्ट पारे।



