Skip to main content

Epost Nepal

साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथिको उजुरीमा थप प्रमाण खोजिँदै

२६ असोज, काठमाडौं — साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारविरुद्ध परेको उजुरीमाथि छलफल गरेपछि संसदीय सुनुवाइ समितिले दुईवटा प्रमाण झिकाउने निर्णय गरेको छ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले उजुरीकर्ता र पीडितसँगको छलफलपछि यस्तो निर्णय गरेको हो।
प्रस्तावित राजदूतहरूविरुद्ध समितिले यसअघि उजुरी आह्वान गरेको थियो। सुनारको एक महिलासँग विवाहेतर सम्बन्ध रहेको र उनलाई पटक–पटक यातना दिएको आरोप लगाउँदै ती महिलाकी साथीले उजुरी दिएकी थिइन्।

उजुरीमाथि छलफलपछि समितिले ललितपुर प्रहरीमा भएको मिलापत्रसम्बन्धी प्रमाण झिकाउने निर्णय गरेको छ। साथै, सुनार जर्मनीबाट ‘डिपोर्ट’ भए वा नभएको विवरण परराष्ट्र मन्त्रालयमार्फत माग गर्ने निर्णय गरिएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।
गत असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ देशका लागि नेपाली राजदूत सिफारिस गरेको थियो।

भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा र जर्मनीका लागि सरू जोशी सिफारिस भएका छन्।

त्यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा.डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चलाकुमारी झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *