Skip to main content

Epost Nepal

घरेलु समर्थकमाझ मेक्सिकोको शानदार प्रदर्शन, अन्तिम १६ मा प्रवेश

१७ असार, काठमाडौं — सहआयोजक मेक्सिको फिफा विश्वकप २०२६ को अन्तिम १६ (राउन्ड अफ १६) मा प्रवेश गरेको छ।

बुधबार बिहान मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेका स्टेडियममा भएको खेलमा घरेलु टोली मेक्सिकोले इक्वेडरलाई २–० ले पराजित गर्दै क्वार्टरफाइनल यात्रातर्फ अर्को कदम अघि बढाएको हो।

मेक्सिकोको जितमा जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गरे। खेलको २१औँ मिनेटमा जुलियनले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ३१औँ मिनेटमा राउलले अर्को गोल थप्दै अग्रता दोब्बर बनाए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन र मेक्सिको २–० ले विजयी बन्यो। बल पोजिसनमा इक्वेडर अघि रहे पनि गोल गर्न भने असफल रह्यो।

जुलियन विश्वकपका तीन फरक खेलमा गोल गर्ने मेक्सिकोका दोस्रो खेलाडी बनेका छन्। यसअघि सन् १९९८ मा लुइस हर्नान्डेजले लगातार तीन खेलमा गोल गरेका थिए।

एस्टाडियो अज्टेका स्टेडियममा मेक्सिकोले आफ्नो अपराजित यात्रा पनि कायम राखेको छ। साथै, यो जितसँगै मेक्सिकोले ४० वर्षपछि विश्वकपको नकआउट चरणमा जित दर्ता गरेको हो। यसअघि सन् १९८६ यता मेक्सिकोले विश्वकपको कुनै पनि नकआउट खेल जित्न सकेको थिएन।

मेक्सिकोले समूह चरणमा दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिकलाई पराजित गर्दै नकआउट चरणमा स्थान बनाएको थियो। अब क्वार्टरफाइनल प्रवेशका लागि मेक्सिकोले इंग्ल्यान्ड र डीआर कंगोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

पराजयसँगै इक्वेडरको विश्वकप यात्रा टुंगिएको छ। पाँचौँ पटक विश्वकप खेलेको इक्वेडरले दोस्रो पटक मात्र समूह चरण पार गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *