Skip to main content

Epost Nepal

आश्चर्यजनक उद्धार : १० दिनपछि सुरुङबाट दुई जना जीवित निकालिए

१९ भदौ, काठमाडौं — भोटेकोशीको बाढीपछि त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको १०औँ दिनमा जीवितै उद्धार गरिएको छ।

नेपाली सेना र सशस्त्र प्रहरीले विदेशी उद्धारकर्मीहरूको सहयोगमा उनीहरूको उद्धार गरेका हुन्।

घटनास्थलमै रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेले त्रिशूली ३ ‘ए’ को सुरुङबाट सञ्जय साह र कबिर महर्जनको उद्धार गरिएको जानकारी दिएका छन्।

काठमाडौंका कबिर महर्जन त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको नियमित मर्मतसम्भारका लागि कुलेखानी जलविद्युत् आयोजनाबाट खटिएका थिए।

सप्तरीका सञ्जय साह त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सञ्चालनका क्रममा सिफ्ट ड्युटीमा थिए। उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार उनीहरूलाई पहुँच सुरुङको आधाआधी भागमा फेला पारिएको थियो।

बाहिर निस्कने क्रममा उनीहरू बीचमै अड्किएको बताइएको छ। सञ्जय मेकानिकल फोरम्यानका रूपमा कार्यरत थिए भने कबिर मेकानिकल सुपरभाइजर थिए।

यसअघि उद्धार टोलीले सुरुङभित्र फसेकाहरूसँग संवाद गर्न सफल भएको जानकारी दिइएको थियो।

यसअघि सांसद न्यौपानेले पनि त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिसको आवाज सुनिएको बताएका थिए। उनले सामाजिक सञ्जालमार्फत नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको र सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिनु आशाजनक संकेत भएको उल्लेख गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *