Skip to main content

Epost Nepal

झण्डै १ लाख ३४ हजार निर्वाचन प्रहरीका लागिभर्ना खुल्यो

२४ पुस, , काठमाडौं —  झण्डै एक लाख ३४ हजार निर्वाचन प्रहरी भर्नाका लागि आवेदन खुला गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले बिहीबार निर्वाचन प्रहरी भर्ना सम्बन्धी आवेदन आह्वान गरेको हो ।

यस पटक नेपाल प्रहरीले कुल १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ती गर्नेछ । इच्छुक उम्मेदवारले शुक्रबारदेखि माघ १ गतेसम्म आवेदन दिन सक्नेछन् । सार्वजनिक बिदाका दिनहरूमा पनि आवेदन स्वीकार गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।आवेदन जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर, भक्तपुर तथा सबै जिल्ला प्रहरी कार्यालयबाट फारम लिएर बुझाउन सकिनेछ ।

निर्वाचन प्रहरीका लागि आवेदन दिने उम्मेदवार फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । जन्ममिति २०२८/१०/०१ देखि २०६४/१०/०१ सम्म परेका व्यक्तिहरू आवेदन दिन योग्य हुनेछन् । योग्यताअन्तर्गत साधारण लेखपढ गरेको, नैतिक पतन देखिने कुनै पनि फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक रूपमा स्वस्थ रहेको तथा आतंककारी वा विध्वंसात्मक संगठनसँग आबद्ध नरहेको हुनुपर्नेछ ।

शारीरिक मापदण्डअनुसार पुरुष उम्मेदवारको उचाइ कम्तीमा ५ फिट, छाती ३१–३३ इन्च र तौल ५० किलो हुनुपर्नेछ । महिलाको हकमा कम्तीमा ४ फिट १० इन्च उचाइ र ४२ किलो तौल तोकिएको छ । निर्वाचन प्रहरी ४० दिनका लागि भर्ना गरिनेछ । भर्ना भएका निर्वाचन प्रहरीलाई प्रतिदिन ८६९ रुपैयाँका दरले तलब प्रदान गरिनेछ, जसअनुसार ४० दिनका लागि कुल ३४ हजार ७७६ रुपैयाँ प्राप्त हुनेछन् ।

४० दिनको खाद्यान्न खर्च सरकारद्वारा सम्बन्धित व्यक्तिको व्यक्तिगत बैंक खातामा उपलब्ध गराइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै खटिएको स्थानमा आउने र फर्किने तयारी खर्चस्वरूप एक पटकका लागि प्रतिव्यक्ति ८४६ रुपैयाँ दिइनेछ ।

यसका अतिरिक्त, प्रतिदिन ३०० रुपैयाँका दरले चार दिनको लागि एकमुष्ट १ हजार २०० रुपैयाँ खाजा खर्च पनि उपलब्ध गराइनेछ । यसपालि सशस्त्र प्रहरी बलले पनि निर्वाचन प्रहरी भर्ना गर्ने तयारी गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *