Skip to main content

Epost Nepal

सिटी सफारी चलाइरहेका चालकको गोली लागेर मृत्यु

१७ पुस, काठमाडौं — सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ।

कोशी गाउँपालिका–१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले चलाएको गोलीबाट स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो। घटना बुधबार राति करिब १:१० बजे कोशी गाउँपालिका–१ अन्तर्गत पुरी टोलमा भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काले जानकारी दिए। मृतक साह सोही वडाका स्थायी बासिन्दा रहेको पनि उनले बताए।

साहको मृत्यु भएपछि स्थानीयवासीले शव उठाउन नदिँदै घटनास्थलमै प्रदर्शन गरिरहेका छन्।

प्रहरीका अनुसार साहले आफ्नै सिटी सफारीमा ८ देखि १० बोरा चिनी बोकेर भारतबाट नेपालतर्फ ल्याइरहेका थिए। सवारी चलाइरहेका बेला उनीमाथि गोली प्रहार भएको हो।

मालसामान ओसारपसारको विषयलाई लिएर साह र सुरक्षाकर्मीबीच केही समय विवाद भएको थियो। तर स्थानीयले भने लेनदेनसम्बन्धी विवादका कारण गोली प्रहार गरिएको दाबी गर्दै विरोध जनाएका छन्।

हाल घटनास्थलमा प्रहरीले कानुनी प्रक्रिया पूरा गर्दै मुचुल्का उठाउने काम गरिरहेको छ। सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेले तस्कर समूहसँग दोहोरो गोली हानाहान भएको र सोही क्रममा एक जनाको मृत्यु भएको बताएका छन्।

उनका अनुसार चोरीका सामान बोकेको सवारी रोक्ने क्रममा सुरक्षाकर्मीमाथि गोली चलेपछि एपीएफले जवाफी फायरिङ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *