Skip to main content

Epost Nepal

नेपाललाई ‘युक्रेन’ बनाउने प्रयास भइरहेको छ: झलनाथ खनाल

१७ पुस, काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेकपा नेता झलनाथ खनालले नेपाललाई ‘युक्रेन’जस्तै अवस्थातर्फ धकेल्ने योजनाबद्ध प्रयास भइरहेको आशंका व्यक्त गर्दै सबै कम्युनिष्ट, वामपन्थी, प्रगतिशील, देशभक्त र लोकतन्त्रप्रेमी शक्तिहरूलाई राष्ट्रिय एकतामा आबद्ध हुन आह्वान गरेका छन्।

अंग्रेजी नयाँ वर्ष २०२६ का अवसरमा जारी शुभकामना सन्देशमा खनालले अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देशभित्रका तिनका सहयोगीहरूले नेपाललाई अस्थिरता, हिंसा र विध्वंसको दिशातर्फ लैजान सक्रिय भूमिका खेलिरहेको आरोप लगाएका छन्। विदेशी पैसा र प्रलोभनको सहारामा सबै राजनीतिक दल र नेताविरुद्ध दुष्प्रचार गरी नेपाली समाजलाई परिवर्तनको मार्गबाट विमुख गराउने प्रयास भइरहेको उनको भनाइ छ।

शुभकामना सन्देशमा उनले उल्लेख गरेका छन् कि अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देशभित्रका तिनका एजेन्टहरू नेपाललाई ‘युक्रेन’ बनाउने उद्देश्यसहित योजनाबद्ध रूपमा अघि बढिरहेका छन्। उनीहरू नेपाली जनतालाई सम्पूर्ण नेताहरू, परिवर्तनका पक्षधर दलहरू, देश र समाजवादविरुद्ध उक्साउँदै हिंसा र विध्वंस फैलाउन खोजिरहेका छन्।

खनालले विश्व शक्ति सन्तुलन तीव्र रूपमा बदलिँदै गएको उल्लेख गर्दै पश्चिमी प्रभुत्वमा आधारित पुरानो विश्व व्यवस्था क्रमशः कमजोर बन्दै गएको र न्याय तथा समानतामा आधारित नयाँ विश्व व्यवस्थाको निर्माण हुँदै गएको दाबी गरेका छन्। यही ऐतिहासिक परिवर्तनको प्रभाव नेपालमा पनि परेको र मुलुक गम्भीर सामाजिक–आर्थिक संकटबाट गुज्रिरहेको उनले बताएका छन्।

देशमा दीर्घकालीन दिशाहीनता, विकासको अभाव, कुशासन, भ्रष्टाचार, बेरोजगारी र युवाको पलायनले संकट थप गहिरिँदै गएको खनालको ठम्याइ छ। गत भदौ २४ गते ‘जेन्जी आन्दोलन’का नाममा भएका तोडफोड, आगजनी र लुटपाटका घटनाले मुलुकलाई झन् ठूलो संकटतर्फ धकेलेको उनले बताएका छन्।

वर्तमान राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै खनालले संविधान मिचेर सरकार गठन गरिएको र प्रतिनिधिसभा निर्वाचन घोषणा गरिएको उल्लेख गरे। निर्वाचन अपरिहार्य भए पनि शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि आवश्यक पूर्वतयारी अझै नपुगेको उनको भनाइ छ।

खनालले निर्वाचनसँगै संविधान संशोधन, सामाजिक–आर्थिक संरचनामा रूपान्तरण, शिक्षा र स्वास्थ्य सुधार, राष्ट्रियता मजबुत बनाउने, सन्तुलित परराष्ट्र नीति, सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण र युवाका लागि रोजगारी सिर्जना जस्ता मुद्दा एकैपटक सम्बोधन गर्नुपर्नेमा जोड दिए।

यी सबै कार्यभार पूरा गर्न व्यापक राष्ट्रिय एकता आवश्यक रहेको उल्लेख गर्दै उनले १७ वटा वाम समूहलाई एकताबद्ध गरी नयाँ नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको जानकारी पनि दिएका छन्। चार आधारभूत सिद्धान्तका आधारमा सबै वाम तथा कम्युनिष्ट शक्तिलाई कार्यगत एकता वा वाम मोर्चामा समेट्ने लक्ष्य रहेको उनको भनाइ छ।

नयाँ वर्ष २०२६ लाई एकता, परिवर्तन, सुदृढीकरण र रूपान्तरणको वर्ष बनाउने उद्देश्यसहित सबै देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन खनालले आह्वान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *