Skip to main content

Epost Nepal

संविधान संशोधनका लागि बौद्धिक बहस सुरु हुनुपर्दछ: डा. शेखर कोइराला

८ साउन, काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन् ।

नेपाल प्रेय युनियनले बीपी जयन्तीको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले दुई ठूला दल एक ठाउँमा उभिएकाले असफल हुने छुट नरहेको बताए ।

“यसपटक सरकारलाई कमजोरी गरेर असफल हुने छुट छैन,” डा. कोइरालाले भने, “दुई ठूला दल एक ठाउँ बसेपछि राष्ट्रका आवश्यकता पूरा गर्न र जनताका निराशा चिर्न पनि सफल हुनुपर्छ ।”

उनले दुई ठूला दल एक ठाउँ हुँदा निरंकुशता आउँछ कि भन्ने चिन्ता स्वभाविक भएको भन्दै त्यसका लागि आफूहरू सदनमा आवाज उठाउने र नागरिक समाजले पनि खबरदारी जारी राख्नुपर्ने बताए ।

“हाम्रै पार्टी सहभागी  भएको भन्दैमा सरकारका गलत कामलाई ठीक भनेर हिँड्न सक्दैनौँ,” डा. कोइरालाले भने, “दुई ठूला दल एक ठाउँ उभिदा निरंकुशताको चिन्ता देखिँदैछ । हामीहरू संसद्मा आवाज उठाउँछौँ, बाहिर प्रेस युनियनजस्ता नागरिक संस्थाले आवाज उठाइदिनुस् ।”

पहिलेदेखि नै संविधान संशोधनका लागि कांग्रेस–एमाले सहकार्यको प्रस्ताव राख्दै आएका डा. कोइरालाले यसपटक संविधान संशोधनका लागि बौद्धिक बहस सुरु हुनुपर्ने बताए ।

उनले संविधान संशोधनको विषय आउनासाथ समानुपातिक समावेशी समाप्त हुन्छ भन्ने चिन्ता जाहेर हुन थालेको भन्दै त्यसलाई समेत आश्वस्त पारेर संविधानका कमीकमजोरी हटाउनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *