Skip to main content

Epost Nepal

इन्टरनेट सेवा अवरुद्ध गरे कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने दूरसञ्चार प्राधिकरणको चेतावनी

२१ बैशाख, काठमाडौं – भरपर्दो एवं गुणस्तरीय सेवाको सुनिश्चितता गरी उपभोक्तालाई निर्वाध रूपमा इन्टरनेट सेवा उपलब्ध गराउन नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सम्बन्धित सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ ।

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्राधिकरणले अत्यावश्यक सेवाअन्तर्गत पर्ने इन्टरनेट सेवा अवरुद्ध गरे कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने चेतावनी दिएको छ ।

बिहीबार (बैशाख २०) मा केही इन्टरनेट सेवाप्रदायकको इन्टरनेट सेवा अवरुद्ध भएपछि आफूले समन्वय गरी केही समयभित्रै इन्टरनेट सेवा सुचारु गराएको प्राधिकरणको भनाइ छ । साथै इन्टरनेट सेवा अवरुद्ध भएको सम्बन्धमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘सेवा प्रदायकहरूले सेवा प्रदान गरे बापत दूरसञ्चार ऐन, २०५३ को दफा ३२ र दूरसञ्चार नियमावली, २०५४ को नियम २६ बमोजिम कूल वार्षिक आम्दानीमा चार प्रतिशत रोयल्टी र नेपाल दूरसञ्चार प्राधिकरण (ग्रामीण दूरसञ्चार विकास कोष विनियमावली, २०६८ को विनियम ५(१) बमोजिम दुई प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष रकम बुझाउनुपर्ने व्यवस्था छ ।’

उल्लिखि प्रावधानअनुरुप धेरैजसो सेवा प्रदायकले नियमानुसार बुझाउनुपर्ने रकम भुक्तान गरी निर्वाध रूपमा प्राधिकरणबाट विदेशी मुद्रा सटही सिफारिस लगायतका सहजीकरणका सुविधाहरु लिइरहेको प्राधिकरणले स्पष्ट पारेको छ । तथापी,  केही सेवा प्रदायकहरूले रोयल्टी र आटीडीएफ शुल्क नतिरेपछि त्यसको बक्यौता चुक्ता गर्न पटक-पटक निर्देशन दिँदासमेत अटेर गरेको प्राधिकरणको ठहर छ ।  ‘वर्षौंदेखि प्राधिकरणबाट बक्यौता भुक्तानीको लागि बारम्बार ताकेता गर्दा समेत नियमानुसार बुझाउनुपर्ने बाँकी बक्यौता रकम विभिन्न बहाना गरी हालसम्म भुक्तानी नभएको अवस्थामा दूरसञ्चार उपकरण आयात तथा विदेशी मुद्रा सटही सिफारिससम्बन्धी (कार्यविधि) विनियमावली २०७६ को ४(घ) बमोजिम विदेशी मुद्रा सिफारिस गर्न मिल्ने नदेखिएको छ,’ विज्ञप्तीमा भनिएको छ ।

उक्त विषय सर्वोच्च अदालतमा समेत विचाराधीन रहेको अवस्थामा दूरसञ्चारजस्तो अत्यावश्यक सेवा गैरजिम्मेवारीपूर्वक अवरुद्ध हुनुलाई स्वाभाविक रूपमा लिन नसकिने प्राधिकरणको दाबी छ ।

इन्टरनेट सेवा प्रदायकहरूले भने हिजो करिब ६ घण्टा अवरुद्ध भएको इन्टरेट हाल सुचारु अवस्थामा रहे पनि फेरि नकाटिएला भन्ने कुराको सुनिश्चितता नभइसकेको जनाएका छन् । भारतको अपस्ट्रिम प्रदायक भारती एयरटेलले नेपालतर्फ पठाउँदै आएको ब्यान्डविथको इन्टरनेसनल लिंक विच्छेद गरिदिएको थियो । सरकार, प्राधिकरण र सेवा प्रदायक सबैको आग्रहपछि इन्टरनेट सुचारु भएको हो । तथापी, एयरटेलले यस विषयमा हालसम्म कुनै औपचारिक जानकारी नदिएकाले के कसो हुने भन्ने ठेगान नरहेको सेवा प्रदायकहरुको भनाइ छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *