Skip to main content

Epost Nepal

चुनाव हारेका मान्छेलाई राष्ट्रिय सभामा उम्मेदवार बनाएर संविधान र व्यवस्थाको भद्दा मजाक बनाए : रवि लामिछाने

२८ पौष, काठमाण्डौं – प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन, २०७९ मा पराजितहरूलाई राष्ट्रिय सभामा उम्मेदवार बनाउने सत्तारुढ गठनबन्धनको निर्णयको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधिसभा सांसद रवि लामिछानेले आलोचना गरेका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभामा विराजभक्त श्रेष्ठ सांसद निर्वाचित भएको एक वर्ष पुगेको अवसरमा शनिबार आयोजित ‘वार्षिक कार्यप्रगति प्रतिवेदन सार्वजनिक समारोह’ मा लामिछानेले चुनावमा पराजितलाई संवैधानिक व्यवस्थाविपरीत राष्ट्रिय सभा सांसद बनाइएकोमा आलोचना गरेका हुन् ।

‘राष्ट्रपतिले चुन्नका लागि राखिएको संख्यामा पनि भर्खरै चुनाव हारेको व्यक्तिलाई लिएर जानुपर्ने, यो व्यवस्थामा खतरा कोबाट छ ? कसले यो व्यवस्थालाई खतरा गर्‍यो ?,’ सभापति लामिछानेले भने, ‘परिवर्तनमा प्रहार त्यसले गर्‍यो जसले भर्खरै चुनाव हारेका मान्छेलाई नभई नहुने, यिनीहरू नभए त हुँदै हुँदैन भने जसरी चोर बाटोबाट राष्ट्रिय सभामा ल्याउनका लागि संविधान र व्यवस्थाको भद्दा मजाक बनाए, जसले यो काम गरेर उनैले प्रहार गरिरहेका छन् र उनीहरू नै भन्छन् व्यवस्थामाथि प्रहार भयो भनिरहेका छन् ।’

सभापति लामिछानेले राजनीतिलाई ट्र्याकमा ल्याउनका लागि कसैसँग केही उपाय भए आफूहरू सुन्न तयार रहेको बताए । सक्षम युवाहरू राजनीतिमा संलग्न भए राजनीतिलाई ट्र्याकमा ल्याउन सकिने र मुलुकलाई सही नीति लिनुपर्ने उनको भनाइ थियो ।

‘राजनीतिलाई ट्र्याकमा ल्याउने अर्को कुनै उपाय कसैसँग छ भने हामी सुन्न तयार छौं । हाम्रो बाटो गलत हो, अर्को कुनै बाटो सही हो भनेर कसैले भन्छ र त्यसलाई प्रमाणित गर्छ भने हामी तयार छौं,’ लामिछानेले भने, ‘तर, हामीलाई के लाग्छ भने ट्र्याकबाट बाहिर गइसकेको यो देशलाई योग्य, सक्षम, होनहार, इमानदार युवा साथीहरूलाई लिएर एकपटक ट्र्याकमा ल्याउन सकियो भने हामी चाँडै प्रगति गर्छौं । राजनीतिकको सिद्धान्त वाद एउटा परिचयनको कुरा होला तर देश नीतिले बन्छ र नीतिको राजा राजनीति हो । त्यसलाई नसंल्याइकन केही पनि बन्दैन । नीति राम्रो बनाउनका लागि सही नियत भएको नेतृत्वको आवश्यकता पर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *