३ असोज, काठमाडौं – एमाले अध्यक्ष एवं हालका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामापछि सार्वजनिक तथा निजी सम्पत्तिलाई लक्षित गर्दै आगजनी गरिएको बताएका छन्। संविधान दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै उनले पदत्यागपश्चात् पहिलोपटक प्रत्यक्ष प्रतिक्रिया दिएका हुन्।
संविधानलाई नियोजित रूपमा आक्रमण गर्ने प्रयास भइरहेको दाबी गर्दै ओलीले भने, “प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइयो, नेपालको नक्सा जलाइयो, देशको पहिचान मेटाउन खोजियो। राजनीतिक दलका कार्यालय, जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठानदेखि नेताकार्यकर्ताका घर र व्यक्तिगत सम्पत्ति समेत छानीछानी खरानी बनाइयो।”
देश वास्तवमै निर्माणतर्फ गइरहेको थियो वा बिग्रँदै गएको भन्ने कुरा भविष्यमा नयाँ पुस्ताले आफैं आकलन गर्ने उनको भनाइ छ। उनले भने, “विदेश जाने विमानस्थलको भीडलाई नकारात्मक देख्नेहरूले आज विदेश जाने अनुमति बन्द हुँदा के अर्थ निकाल्छन्, त्यो समयले नै देखाउनेछ। तर, सार्वभौमसत्ता समयमै नबुझिए इतिहासमै मात्र सीमित हुन सक्छ।”
जेन–जी आन्दोलनको प्रसंग उठाउँदै ओलीले त्यसमा आह्वानकर्ताले नै घुसपैठ भएको स्वीकार गरेको उल्लेख गरे। “षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाले ज्यान गुमाए। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली चलाउन आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग भएको घटनाको छानबिन हुनैपर्छ,” उनले स्पष्ट पारे। दिवंगत युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना पनि व्यक्त गरे।
ओलीले संविधान दिवसका अवसरमा जारी गरेको अपिल
दिदीबहिनी तथा दाजुभाइहरू !
आज संविधान दिवस। नेपाली जनताले ७० वर्षसम्म संघर्ष गरेर आफैंले निर्वाचित गरेको संविधानसभाले बनाएको संविधान जारी गरेको दिन । लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनताका अधिकार स्थापित भएको दिन ।
यो संविधान निर्माण गर्दा हामीले भोगेका चुनौती तपाईँहरूको सम्झनामा ताजै छ । नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई समेत परास्त गर्दै संविधान जारी भएको थियो । तसर्थ नेपालको संविधान नेपाली जनताले आफैले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो ।
संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्नेगरी भूपरिवेष्ठित देशलाई भूजडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचनाहरु बनाइरहेका थियौं। उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेका थियौं। हाम्रो सार्वभौमसत्ताको सामर्थ्य विस्तार गरेका थियौं। हाम्रा विकास संरचनाहरूका जग बसालेका थियौं । अर्थतन्त्र तंग्रदै थियो।
गत साता जेन-जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो-आह्वान कर्ताले भनेझैं । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रध्दाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु।
हामी यतिबेला हाम्रो संविधानमाथि ठूलो आक्रमण भएको अवस्थामा छौँ। प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ – नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ। जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ।
यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैं बयान दिनेछ। हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं महसुस गर्ने छ। विदेश जाने/आउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउने छ। हाम्रो नयाँ पुस्ताले आफैं बुझ्ने छ ।
तर, यो कुरा समय छँदै बुझ्नु पर्ने छ, नबुझेमा हाम्रो देशको सार्वभौमसत्ता इतिहासमा मात्र रहने छ ।
हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ। देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो। यथार्थ भन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरु पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन् झन् गाढा सम्झना गराउने छ।
हामी सबै पुस्ताका नेपाली एकजुट हुनु पर्दछ – सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न र हाम्रो संविधानको रक्षा गर्न। सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो। हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय सङ्कटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ।
मेरो सबैमा अपील छ –
संविधान जोगाऔं, सार्वभौमसत्ताको रक्षा गरौं।



