६ माघ, सर्लाही–नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारको कार्यशैलीलाई तानाशाहीपूर्ण भन्दै आलोचना गरेका छन्।
सर्लाही सदरमुकाम मलंगवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले गैरलोकतान्त्रिक आचरण अपनाएको आरोप लगाए।
नेता नेपालका अनुसार, मुलुकको राजनीति सही दिशातर्फ उन्मुख हुन नसकेको र सरकार असफलताका दिशामा अघि बढिरहेको छ। उनले दुई ठूला दलहरूले संविधान संशोधनको नाममा सरकार बनाएर जनतालाई भ्रममा पार्न खोजेको टिप्पणी गरे।
उनले भने, “जनताको चाहना पूरा हुन सकेको छैन। जनताले सुरक्षा र रोजगारी चाहेका छन्, तर सरकार अधिनायकवादी शासन थोपर्नमै व्यस्त छ।” विचाराधीन विधेयकहरू प्रक्रियाबिना अध्यादेशमार्फत अघि बढाउने सरकारको कदमलाई पनि उनले चर्को आलोचना गरे।
अध्यक्ष नेपालले वर्तमान सरकारले समृद्ध नेपालको परिकल्पना पूरा गर्नुको सट्टा देशलाई आर्थिक संकटतर्फ धकेलेको र कंगाली अवस्थामा पुर्याउन लागेको आरोप लगाए।
एमालेसँगको एकताबारे स्पष्ट धारणा
फरक प्रसंगमा बोल्दै, नेता नेपालले एमालेसँग कुनै पनि हालतमा एकता हुन नसक्ने बताए। उनले भने, “माधव नेपालको नाम सुन्नेवित्तिकै एमालेका नेताहरुको सात्तो जान्छ। उनीहरूसँगको एकता असम्भव छ। हामी जनताको विश्वास जितेर सरकार चलाउँछौं।”
उनले व्यवहार मिल्ने राजनीतिक शक्तिहरूसँग मात्र एकता सम्भव रहेको उल्लेख गर्दै आफ्नो दलले लोकतान्त्रिक मूल्य र मान्यतामा अडिग रहने प्रतिबद्धता व्यक्त गरे।



