११ मङ्सिर, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले जस लिनेभन्दा बढी काममा विश्वास गर्ने पार्टी भएको बताएका छन् ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले सातौं सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले एमाले गफ गर्ने भन्दा काममा विश्वास गर्ने पार्टी भएको बताए ।
नेकपा एमालेले नयाँ सोचका साथ आजको मागअनुसार पार्टीलाई अघि बढाउने नीति लिएको उनले उल्लेख गरे । जनताको बहुदलीय जनवादले सबैको अनुहारमा उज्यालो ल्याउने ओलीले बताए । प्रधानमन्त्री ओलीले सबैका लागि शिक्षा, स्वास्थ्य लगायतका कुरामा ध्यान दिनुपर्ने बताए ।
त्यसैले एमाले सरकारमा हुँदा वा नहुँदा जनताप्रति जिम्मेवार पार्टी रहेको बताए । नेकपा एमाले सरकारमा हुँदा परिवर्तनका धेरै काम गरेको बताउँदै ओलीले परिवर्तन गर्न खोज्दा गर्न सम्भव रहेको बताए । सरोकारवालको प्रतिनिधित्व नभई सरोकारवालाको विषयमा निर्णय गर्ने कुरा गलत भएको भन्दै उनले मजदुरको विषयमा निर्णय गर्ने ठाउँमा ट्रेड युनियनको सहभागिता हुनुपर्नेमा जोड दिए ।



