७ मङ्सिर, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस-एमाले नेतृत्वको सरकारलाई कसैले हल्लाउन नसक्ने बताएका छन् ।
दरबार मार्गमा आयोजित एमालेको जागरण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समीकरणलाई कसैले भत्काउन नसक्ने दाबी गरे ।
‘एमालेलाई कसैले हल्लाउन सक्ने छैन । अहिलेको समीकरण र सरकारलाई पनि कसैले हल्लाउन सक्ने छैन,’ उनले भने, ‘अहिलेको सरकार कमिसन खोरी र भ्रष्टाचार गर्न गएको छैन । कमाउन आएको छैन । आफ्ना मान्छे भर्ती गरेको छैन । एमालेतिर औँला ठड्याएर बोल्नेहरूलाई चुनौती दिन चाहन्छु, तथ्य र प्रमाणका आधारमा बहस गर्न सक्नुहुन्छ?’
ओलीले धेरै प्रकारका मान्छेले धेरै प्रकारका हल्ला फैलाए पनि एमाले कागको पछि नलाग्ने स्पष्ट पारे । उनले सरकार गिराउने खेल भइरहे पनि त्यो सफल नहुने बताए । ‘सरकार बन्दै बन्दैन, विश्वासको मत पाउँदै पाउँदैन। दसैं कट्दैन । तिहार कट्दैन भन्थे । अब त मंसिर पनि आयोग । उनीहरू फेब्रुअरी भनिरहेका छन् । कान खोलेर सुने हुन्छ । यो समीकरण मंसिर ०८४ सम्म चल्छ । ८३ असारसम्म मैले नेतृत्व गर्छु । कांग्रेस र एमालेले १८-१८ महिना सरकार चलाउँछ । त्यसमा कुनै भ्रम नराखे हुन्छ,’ उनले भने ।
उनले एमाले र कांग्रेस प्रतिस्पर्धी भए पनि देश विकासका निम्ति एक ठाउँमा उभिएको बताए । ‘एमाले र कांग्रेस प्रतिस्पर्धी पार्टी पनि हुन् । तर, किन एक ठाउँमा छन्? प्रतिस्पर्धा भन्दा ठूलो कुरा देश निर्माण हो । अहिले देशमा अराजकता फैलाइएको छ । असंवैधानिक काम भइरहेको छ । लोकतन्त्रलाई खतरामा पार्ने, समाप्त पार्ने षड्यन्त्र भइरहेको छ । त्यसलाई दुई दल मिलेर चिर्नेछ । लोकतन्त्रका लागि ज्यान गुमाएका सहिदहरूको सपना खेर जान दिइने छैन । हामीले सडकमा संघर्ष गरेर ल्याएको यो स्वतन्त्रताहरू हामी छोड्न सक्दैनौं । तलमाथि पर्न दिइनेछैन । संविधानका मूल मर्म तलमाथि पर्न दिइने छैन,’ उनले भने ।



