२५ कात्तिक, कास्की – सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
२ कात्तिकमा पक्राउ परेका पूर्व गृहमन्त्री लामिछानेलाई चौथो पटक म्याद थपका लागि आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । न्यायाधीश नवराज दाहालको इजलासले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धामा अनुसन्धान गर्न १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन भएको गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक तथा सञ्चालक रविसँगै गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र जीवी राईसँग मिलेर रकम अपचलन गरेको आरोपमा पक्राउ परेकी लिला पछाइलाई पनि १३ दिन नै हिरासतमै राख्न प्रहरीले अनुमति पाएको छ ।
लामिछानेलाई सुरुमा ६ दिन, त्यसपछि ७ दिन र १० दिन म्याद थप गरी अनुसन्धानपछि यसपटक थप १३ दिन म्याद थप गरिएको हो ।



