२४ कात्तिक, मकवानपुर – प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुराना संसदीय दलहरू कांग्रेस र एमालेले जालझेल गरेको तर काम भने नगरेको दाबी गरेका छन् ।
थाहा नगरपालिका, मकवानपुरमा शनिबार आयोजित पार्टीको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले वर्तमान सरकार काम गर्न असफल भएको भन्दै एमाले र कांग्रेस गठबन्धनको सरकारले १०० दिनमा जनतालाई राहत पुग्ने कुनै पनि काम नगरेको बताए । माओवादी केन्द्र नेतृत्वको सरकारले गरेका काम समेटेर प्रधानमन्त्री केपी शर्मा ओलीले १०० दिनको वक्तव्य दिएको दाहालको दाबी थियो ।
‘हामीले धेरै राम्रो काम गरे पनि जनतामा यो-यो राम्रो काम गर्यौं भन्ने स्थापित गर्न अलि सकेनौं । उनीहरूले नगरेका काम पनि, अहिले तपाईंहरूले १०० दिनको उपलब्धिमा प्रधानमन्त्री केपी ओलीले पढेको वक्तव्य सुन्नुभएको होला, मैले गरेका जति काम आफूले गरेको बनाएछन् । उनले त यहाँ आएपछि सिन्को भाँचेका छैनन् । १०० दिनमा गरेको भनेर फेहरिस्त जे पेस गरेका छन् त्यो माओवादी नेतृत्वको सरकारले गरेका कामहरूको लिस्ट बनाएछन् र यो मैले गरेको भने,’ दाहालले भने ।
दाहालले आफ्नो नेतृत्वको सरकारले भारत र चीनसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको बताए । भारत र चीनसँग नेपालको हितमा महत्त्वपूर्ण र दूरगामी सहमति र सम्झौता भएका पनि उनले दोहोर्याए ।
विश्वमञ्चहरूमा नेपाल र नेपाली जनताको हक र अधिकारको लागि कुरा राखिएको उनको भनाइ थियो । संयुक्त राष्ट्रसंघदेखि अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको जलवायु परिवर्तनबाट पर्ने प्रभावलगायतका विषयमा प्रभावकारी कुरा राखेको उनले बताए ।
आफ्नो नेतृत्वमा सरकार हुँदा धेरैका सेटिङ भत्काएकोले ती बिचौलिया, पुँजीपतिले एमाले र कांग्रेसको सरकार रातारात गठन गरेको दाहालको भनाइ थियो । ‘मलाई शेरबहादुर देउवाजी र केपी शर्मा ओलीजीले बुद्धि निकालेर सरकार बनाएको भन्ने लाग्दैन,’ दाहालले भने । वर्तमान सरकार राजनीतिक रूपमा भन्दा पनि अरु नै कारणले गठन भएको दाहालको भनाइ थियो । दिनदिनै सरकारप्रति जनतामा असन्तुष्टि, आवेग र आक्रोश बढ्दै गएको पनि उनले भने ।
काठमाडौं उपत्यका लगायतका जिल्लामा पछिल्लो पटक आएको बाढी, डुबान र पहिरोबाट जनता प्रभावित र पीडित भएपछि सरकार छ कि छैन भन्ने अवस्था सिर्जना भएको दाहालको भनाइ थियो । आफू पीडित जनताकोमा जाँदा सरकार अनुपस्थित देखेपछि सर्वदलीय बैठक आह्वान गरेको दाहालले बताए । ‘मैले सर्वदलीय बैठक बोलाए, बोलाउनुपर्थ्यो सरकारले । सरकारले त्यो वास्ता नगरेपछि मैले बोलाए । मैले सर्वदलीय बैठक बोलाएको ३ घण्टापछि सरकारले बोलाउन बाध्य भयो,’ उनले भने, ‘हामीले गर्न खोजेका राम्रा कामहरूको परिणाम र अहिलेको सरकारले गरेका नराम्रा कामहरूको परिणामबारे अहिले जनताले नयाँ विकल्पतिर सोच्न थालेको महसुस गर्छु ।’



