२४ कात्तिक, काठमाडौं – मानव तस्करी मुद्दामा जोडिएपछि नेकपा एमालेका प्रदेश सांसद लिलाबल्लब अधिकारी पार्टीबाटको संगठित सदस्यबाट निलम्बित भएका छन् ।
शनिबार एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले अधिकारीमाथि लागेको आरोपको छानविन भएर टुंगो नलाग्दासम्म अधिकारीलाई पार्टीको संगठित सदस्यबाट निलम्बन गरेका हुन् ।
‘मानव तस्करी जस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानविन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजानिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै माननीय श्री लिलावल्लव अधिकारीलाई उपरोक्त आरोपको अन्तिम निरुपण नभएसम्मको लागि पार्टीको कुनैपनि तहमा रहन नपाउने गरी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्य तथा नेकपा (एमाले) को संगठित सदस्यताबाट समेत निलम्बन गरिएको जानकारी गराइन्छ,’ खतिवडाले विज्ञप्तिमार्फत् भनेका छन् ।
कोशी प्रदेश सरकारको तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका अधिकारी वैदेशिक भ्रमणका मापदण्ड पूरा नगरी जापान पुगेकोमा त्यहाँको अध्यागमन कार्यालयले शंकास्पद कागजात रहेको भन्दै फिर्ता पठाएपछि उनीमाथि प्रश्न उठेको छ । नैतिक प्रश्न उठेपछि अधिकारीले मन्त्रीबाट राजीनामा दिइसकेका छन् ।
उनीसँगै जापान अध्यागमन कार्यालयबाट फर्काइएका अरू तीन जना युवाहरूलाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।



