१२ कात्तिक, काठमाडौं — नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) उठाइने भएको छ।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै शुल्क संकलन सुरु हुने जानकारी दिएको हो। सडक बोर्ड नेपालको कार्यकारी समितिले असोज १२ गते गरेको निर्णयअनुसार टोल शुल्क उठाउन लागिएको आयोजनाले जनाएको छ।
आयोजनाले सार्वजनिक गरेको शुल्क विवरणअनुसार काठमाडौं प्रवेश गर्ने कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले ६५ रुपैयाँ तिर्नुपर्नेछ। काठमाडौं प्रवेश नगरी सुरुङमार्गबाट बाहिरिने यस्ता सवारीसाधनका लागि भने ६० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
त्यस्तै, मिनी बस तथा मिनी टिपर/ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ। सिंगल रियर एक्सल भएका बस तथा ट्रकका लागि प्रवेश गर्दा २५० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तोकिएको छ।
मल्टी एक्सल ट्रक, सवारीसाधन तथा भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ टोल शुल्क लाग्नेछ।