२० कात्तिक, कास्की – कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
मंगलबार जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले १० दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलनको अनुसन्धानका लागि प्रहरी र सरकारी वकिलले २५ दिनको म्याद माग गरेको थियो । तर अदालतले १० दिनको मात्रै दिएको हो ।
प्रहरीले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान गरिरहेको छ ।
लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए । उनलाई यसअघि दुई पटक म्याद लिएर अनुसन्धान गरिएको थियो ।
सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरी हिरासतमा रहेका पूर्व डिआइजी छविलाल जोशी, रामबहादुर खनाल र लिला पछाईंलाई पनि १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
तिहारको सार्वजनिक बिदाका कारण म्याद थप गर्न नमिलेकोले आज म्याद थपका लागि उनीहरूलाई अदालत लगिएको थियो । यस मुद्दामा पूर्व डिआइजी छविलाल जोशीलाई प्रहरीले असोज ६ गते पक्राउ गरेको थियो। असोज १४ गते लिला पछाईंलाई पक्राउ गरेको थियो । खनाललाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कात्तिक ९ गते पक्राउ गरेको थियो ।



