१० कात्तिक, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली कांग्रेसले लोकतन्त्र मर्न नदिने बताएका छन् ।
शनिबार काठमाडौंमा कोप- २९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनका क्रममा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले अहिलेको सरकार एमाले, कांग्रेस मिलेर बनाएको उल्लेख गर्दै कांग्रेस र एमाले नेपालको राजनीतिक, सामाजिक इतिहास परिवर्तनका कुरामा अग्रणी रहेको पनि बताए ।
प्रधानमन्त्री ओलीले सामाजिक र राजनीतिक परिवर्तनमा एमाले र कांग्रेसले असाधारण योगदान गरेको दाबी गर्दै लोकतन्त्र देश र जनताका लागि सर्वोत्तम व्यवस्था भएको उल्लेख गरे ।
‘एमाले, कांग्रेस यी दुईवटा पार्टीहरू नेपालको राजनीतिक, सामाजिक, यस इतिहासमा परिवर्तनका कुराहरूमा, योगदानका कुराहरूमा र परिवर्तन साकार पार्नका लागि लड्ने कुराहरूमा सदैव अग्रणी रहेका हुन् । यिनले असाधारण योगदान पनि गरेका छन् । यिनको प्रतिबद्धता छ । यी पार्टीले डेमोक्रेसी मर्न दिँदैनन् । डेमोक्रेसी देश र जनताका लागि काम गर्ने सर्वोत्तम व्यवस्था हो,’ प्रधानमन्त्री ओलीले भने, ‘मानव जातिले सामाजिक सुप्रबन्धका लागि विकास गरेका दुईवटा कुरा हुन् । सामाजिक सुप्रबन्धका लागि पहिलो विकास मानवले पोलिटिक्स गरेको हो । त्यसले मात्रै पनि चलेन, अनि त्यहाँ विकास भए पोलिटिकल पार्टी । राष्ट्रियता एउटा हुन्छ भन्ने पार्ने राजनीतिक पार्टीले हो । राजनीतिक पार्टी नहुँदासम्म बन्दुकले बाँधेका जनता नेसन भइसकेका हुँदैनन् ।’



