Skip to main content

Epost Nepal

आगामी निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने छ: पुष्पकमल दाहाल

१९ असोज, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताएका छन् ।

दोलखा-काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार गरेको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको उनको भनाइ छ ।

दाहालले अब देशब्यापीरुपमा एकल प्रतिष्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको सुरुवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने बताए ।

आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियान र त्यसकै कारण सरकारबाट हटाइएकाले जनतामा माओवादीप्रति नयाँ आशा र आकर्षण पैदा भएको दाहालको दाबी छ । उनले आगामी निर्वाचनमा एक्लै विजय प्राप्त गर्ने तयारी थाल्न कार्यकर्तालाई निर्देशन समेत दिए ।

पछिल्लो समय टानलगायतका कतिपय संस्थामा कांग्रेस-एमाले मिल्दा पनि माओवादी एक्लैले चुनाव जितेको उल्लेख गर्दै अध्यक्ष दाहालले अहिले देशब्यापीरुपमा देखिएको जनताको आशा र आकर्षणलाई संगठन निर्माण र जनपरिचालनसँग जोडेर आगामी निर्वाचन एक्लै जित्ने वातावरण बनाउनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *