२५ भदौ, सिरहा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको सरकार दलाल र बिचौलियाहरूको अगुवाइमा बनेको आरोप लगाएका छन् ।
सिरहाको कर्जन्हामा मंगलबार बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
‘ठूल्ठूला भ्रष्टाचारी र अत्याचारीहरू पक्राउ पर्न थालेपछि कांग्रेस र एमालेका नेताहरू आफू पनि पर्ने हो कि भनेर आतंकित भए,’ दाहालले भने, ‘अनि दलाल र बिचौलियाहरूले अँध्यारा कोठामा उनीहरूलाई मिलाइदिए ।’
दुई ठूला दल नै मिल्नु संसदीय व्यवस्थाका लागि अप्राकृतिक र अस्वभाविक रहेको पनि उनले बताए । यो सरकार बन्नुको पछाडि स्वार्थ रहेको र यसरी बनेका सरकारले मुलुक र जनताका हितमा काम गर्छ भन्ने अपेक्षा नराखे पनि हुने उनको भनाइ छ ।
दाहालले आफू प्रधानमन्त्रीको दौडमा अहिले नरहेको पनि बताएका छन् । ‘म प्रधानमन्त्री बन्ने रेसमा छैन, हामी सरकार बनाउन लाग्दैनौं,’ उनले भने, ‘हामी अब पार्टी बनाउने काममा जुटेका छौं ।’ दाहालले अब आउने चुनावमा आफ्नो पार्टी पहिलो बन्ने दाबी पनि गरे ।
अध्यक्ष दाहालले मुलुकको अहिलेको समस्या भ्रष्टाचार भएकाले जनतालाई साथमा लिएर भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलन गर्ने बताए ।
अनुचित लेनदेन (मिटरब्याज)लगायत तमाम बेथितिका विरुद्ध आफूहरुले सरकारबाट सङ्कल्पका साथ सङ्घर्ष सुरु गरेको स्मरण गर्दै दाहालले भने, ‘अब हामी पार्टी सुदृढ गरेर देशैभरि पार्टी पुनर्गठन गर्दै बलियो पार्टी बनाएर भ्रष्टाचारका विरुद्ध तलैबाट आन्दोलन सिर्जना गर्ने सोचमा छौँ ।’



