२४ भदौ, सप्तरी – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सरकारबाट बाहिरिँदा बेदाग रहेर बाहिरिएको दाबी गरेका छन् ।
जनयुद्धको क्रममा सप्तरीमा सहिद भएका दुर्गाराज पौडेल ( सुरज ) र उपेन्द्र कोइराला (अर्जुन) को शालिकको सोमबार साँझ सुरुङ्गा नगरपालिका – २ रक्साहामा अनावरण गर्दै पूर्व प्रधानमन्त्री दाहालले देश र जनताको पक्षमा काम गरिरहँदा पनि सरकारबाट बाहिरिनु परेको बताए ।
भूमाफियाका विरुद्ध, नक्कली भुटानी शरनार्थी प्रकरण र सामाजिक न्यायको पक्षमा कार्य गरिरहँदा पनि सरकारबाट बाहिरिनु पर्ने अवस्था सिर्जना गरिएको उनले बताए । मधेशमा विकराल समस्याको रूपमा रहेको नागरिकता समस्या समाधान गर्न आफ्नो नेतृत्वको सरकारले बाटो खोलेको उनको दाबी थियो ।
कार्यक्रममा दाहालले सहिदको रगतबाट प्राप्त उपलब्धिलाई दायाँबायाँ हुन नदिने प्रतिबद्धता जनाए ।



