Skip to main content

Epost Nepal

माओवादीको ऐतिहासिक भूमिका र महत्वलाई अपमानित हुने गरी नबोल्न पुष्पकमल दाहालको सबैलाई आग्रह

१४ भदौ, सुर्खेत – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको काँधमा ठूलो जिम्मेवारी रहेको बताएका छन् ।

पार्टी केन्द्रद्वारा सुर्खेतमा आयोजित ‘प्रदेशस्तरीय परामर्श बैठक’लाई सम्बोधन गर्न आइपुगेका अध्यक्ष प्रचण्डले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने, संघीय लोकतान्त्रिक गणतन्त्र तथा परिवर्तनको रक्षा गर्ने, दलित, महिला, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, थारु, मजदुर, किसानलगायतको पाएको अधिकार बचाउने जिम्मा माओवादी केन्द्रको भएको बताए । त्यसका लागि माओवादी केन्द्रले एकतावद्ध भएर परिस्थितिको सामना गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा माओवादीको ऐतिहासिक भूमिका र महत्वलाई अपमानित हुने गरी नबोल्न अध्यक्षले सबैलाई आग्रह गरे ।

विस्तृत शान्ति सम्झौतालाई संविधानको अंग बनाएको र व्याख्यात्मक टिप्पणीमा अझ माओवादी जनयुद्ध भनेर उल्लेख गरिएको उनको भनाइ थियो । सबै प्रदेशमा पुगेर सुझाव, परामर्श र राय संकलन गर्ने क्रममा कर्णाली आइपुगेको अध्यक्ष प्रचण्डले बताए ।

“संसदीय प्रजातन्त्रमा ठूला पार्टीबीचको गठनबन्धन निकै दुर्लभ र बिडम्बनाको कुरा हो,” उनले भने ।  बेथिति र भ्रष्टाचारलाई बचाउने कोसिस नगर्न उनले सरकारलाई सुझाव दिए । पार्टीभित्र बहस र छलफल भइरहने तथा यसले पार्टीलाई झन बलियो बनाउने उनको भनाइ थियो ।

“आजको मितिमा नेतृत्व हस्तान्तरण त्यति उपयुक्त छैन । मेरा लागि अध्यक्ष पद ठूलो कुरा होइन । अध्यक्षभन्दा म माथि भइसके । टोली बन्यो भने मैले नयाँ भूमिकामा जाने सोच बनाएको छु”, अध्यक्ष प्रचण्डले भने । – रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *