२२ साउन, विराटनगर – पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई दलाल पुँजीपतिहरूले भुलभुलैयामा पारेको बताएका छन् ।
दाहालले आफू, पदाधिकारी तथा कार्यकर्ताहरू दलाल पुँजीपति र विभिन्न गिरोहका कारण प्रदूषित भएको पनि स्वीकार गरे ।
विराटनगरमा मंगलबार बसेको माओवादी कोशी प्रदेशको सातौं पूर्ण बैठकलाई सम्बोधन गर्दै दाहालले दलाल पुँजीपति र विभिन्न गिरोहले पार्टीलाई भुलभुलैयामा पारेको भन्दै आत्मालोचना गरेका हुन् ।
‘आफू प्रदूषित भएकोमा आत्मालोचना गर्छु । ममात्रै होइन, पदाधिकारी र तपाईंहरू पनि प्रदूषित हुनु भएको छ,’ उनले भने, ‘जनयुद्धका बेलाका हजारौं ‘होलटाइमर’ कार्यकर्तालाई व्यवस्थापन गर्न हामी प्रहर्षित भयौं । तर, दलाल पूँजीपतिहरूको भुलभुलैयाका कारण पार्टीमा समस्या भयो ।’
माओवादी पार्टीको विभाजनका कारण आन्दोलनले अर्को मोड लिएको उनको भनाइ छ । आफ्नै कारण पार्टी विभाजन भएको उनले बताए ।
‘हामीले विद्रोह कि चुनाव भन्ने कुरालाई छान्न सकेनौं। चुनाव पनि भन्यौं र विद्रोह पनि । चुनाव र विद्रोह सँगसँगै भन्नु नै माओवादी आन्दोलनको गल्ती भयो। जसका कारण साथीहरूले पार्टी विभाजन गर्नुभयो,’ दाहाल भन्छन् ।
पार्टी अध्यक्ष भएका नाताले सबै गल्तीको जिम्मा आफैंले लिने दाहालले बताए। क्यान्टोन्मेन्टमा जनमुक्ति सेना राखेर विद्रोह गर्छु भन्नु नै आफ्नो मुख्य गल्ती भएको उनको भनाइ छ।
‘त्यो गल्ती नगरेको भए साथीहरू फुटेर जाँदैन थिए,’ उनी भन्छन्, ‘विद्रोह नै भनेको भए हामी एक हुने थियौं।’ गल्ती गर्न नछाड्ने पार्टीको विशेषता भएको बताउँदै दाहालले गल्तीदेखि डराउने पार्टीले अगाडि बढ्न नसक्ने उल्लेख गरे। भने, ‘गल्ती गर्न डराउने पार्टीले प्रगति गर्न सक्दैन। तर, गल्ती थाहा पाएपछि आत्मालोचना गर्न पनि पछि परिँदैन। त्यही भएकाले हाम्रो पार्टी अरूभन्दा फरक छ।’



