११ साउन, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा दाहालले भ्रष्टाचार अन्त्यका साथै सुशासनका र अन्तर्राष्ट्रिय जगतमा माओवादी नेतृत्वको सरकारले गरेको राम्रा कामका कारण सरकारबाट बाहिरिनुपरेको भन्दै अब सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए ।
सरकारबाट बाहिरिँदै गर्दा जनतामा जाने ठूलो ऐतिहासिक अवसर प्राप्त भएको अध्यक्ष दाहालले बताएको माओवादी प्रवक्ता अग्नि सापकोटाले बताए। उनले अब जनताको सम्बन्ध थप स्थापित गर्नका लागि अभियान नै बनाएर जानुपर्नेमा समेत जोड दिइएको सापकोटाले बताए ।
शुक्रबार पदाधिकारी बैठकमा ६ जना सदस्यहरूले धारणा राखेका थिए। उनीहरूले संघर्षका रूपमा पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने धारणा राखेको प्रवक्ता सापकोटाले बताए। पदाधिकारी बैठकले पार्टीलाई रुपान्तरण गर्दै जनतामा जाने अभियानको मार्गचित्र बनाउने उनीहरूको भनाइ छ ।



