१५ बैशाख, काठमाडौं – उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यतर्फ इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभा सदस्यतर्फ बझाङ–१ ‘क’मा मतदान सम्पन्न भएको छ ।
इलाम–२ मा करिब ५८ प्रतिशत र बझाङ–१ ‘क’मा करिब ५० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । यद्यपि निर्वाचन आयोगले मतदानको विवरण आयोगको प्रणालीमा प्रविष्ट गर्ने काम भइरहेको बताएको छ ।
आयोगका अनुसार दुबै ठाउँमा मतदान शान्तिपूर्ण र उत्साहपूर्ण सम्पन्न भएको छ । तर दुबै क्षेत्रमा ४ मंसिर २०७९ मा भएको चुनावमा भन्दा कम मतदान भएको छ ।
उपनिर्वाचनमा इलाम–२ मा १ लाख १५ हजार ८८९ मतदाता र बझाङ–१ प्रदेश सभा क्षेत्रमा ६१ हजार ७४८ मतदाता थिए । ४ मंसिर २०७९ मा इलाम– २ मा ५९ दशमलव ७८ प्रतिशत र बझाङ– १ प्रदेशसभा निर्वाचन क्षेत्रमा ५२ दशमलव ९८ प्रतिशत मतदान भएको थियो ।
इलाममा इलाम नगरपालिका– ७ स्थित गौतम बुद्ध सभागृहमा साँझ ११:०० बजेभित्र मतपेटिका संकलन हुने आयोगले जनाएको छ । तर बझाङमा भने हवाइ मार्गबाट पनि मतपेटिका ढुवानी गर्नुपर्ने भएकाले आइतबार विहान १० बजेभित्र ढुवानइ भइसक्ने व्यवस्था मिलाइएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।



